सङ्क्रमित घटे पनि अस्पतालमा भर्ना हुने घटेनन्

देशभरमा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या कम भइरहँदा पाटन अस्पतालमा अक्सिजन वा आइसियु चाहिएर भर्ना भएका सङ्क्रमितको सङ्ख्या कम हुन सकेको छैन । एकातिर परीक्षणका लागि आउने नै घटिरहेको र अर्कातिर आएकामध्ये कम मानिसमा मात्रै सङ्क्रमण पाइएको भए पनि समस्या भएर अस्पताल भर्ना हुनेको सङ्ख्या कम नभएको हो ।

एक सातायताको तथ्याङ्क हेर्दा पनि भर्ना हुने दर नघटेको अस्पतालले जनाएको छ । मङ्गलबार अस्पतालमा कोभिडका लागि छुट्याइएका श्ययामा २२५ र अरू श्ययामा २१० बिरामी थिए । अस्पताल भर्ना हुने र अक्सिजन चाहिने बिरामी कम नभएकालाई वार्डमा राख्ने कम नभएको अस्पतालका निर्देशक डा रबि शाक्यले बताए । दैनिक झण्डै २५ नयाँ बिरामी आइरहेका छन् । उनले भने, “बच्चाको एनआइसयुबाहेक अरू आइसियु सधैँ भरिभराउ रहेका छन् ।”

अस्पतालमा पनि पिसिआर परीक्षणका लागि आउनेको सङ्ख्या केही कम भए पनि भर्ना हुनेको सङ्ख्या घट्न नसकेको अस्पतालले जनाएको छ । अस्पतालको हाताभित्र छिर्नासाथ ज्वरोलगायत परीक्षण गरेर शङ्कास्पद सङ्क्रमित र अरू बिरामीलाई छुट्याइने गरिएको छ । ‘फिबर क्लिनिक’मा आउनेका सङ्ख्या केही कम भइरहेको अस्पतालका निर्देशक डा शाक्यले बताए । उनले भने, “एक सातायता पिसिआर परीक्षणका लागि अस्पताल आउनेको सङ्ख्या पनि घटिरहेको छ ।”

अस्पतालले गत वर्षदेखि कोभिड र अरू बिरामीलाई छुट्याएर उपचार गर्दै आएको छ । आवश्यकताअनुसार कोभिडका लागि श्यया बढाउँदै लगिएको निर्देशक डा शाक्यले बताए । अहिले नयाँ भेरियन्टसहित सङ्क्रमण देखिन थालेसँगै अरू श्ययालाई खुम्च्याउँदै र कोभिडका लागि बढाउँदै लगिएको छ । अस्पतालमा अहिले कोभिडका लागि तीन सय श्यया र अरूका लागि ३५० श्यया छ । उनले भने, “सबै श्ययामा नै बिरामी झण्डै भरिएका छन् ।”

अस्पतालले सरकारले निषेधाज्ञा जारी गरे पनि बहिरङ्ग सेवा अवरुद्ध गरेको छैन । कोभिडका शङ्कास्पद व्यक्तिलाई शुरुमा नै छुटाएर अरू बिरामीको सबै किसिमको उपचार भइरहेको हो । यातायातको असुविधा र अहिलेको समयमा बिरामी आफैँ आउन नचाहेका कारण पनि सामान्य अवस्थाभन्दा धेरै कम मात्रै बिरामी बहिरङ्ग सेवाका लागि आइरहेका छन् । उनले भने, “अस्पताल आएका कुनै पनि बिरामी उपचार नभएर फर्कनुपर्ने अवस्था छैन ।”

अस्पतालले कोभिडका लागि ३० आइसियु र १८ भेन्टिलेटर छुट्याएको छ । कोभिडबाहेक सजिर्कल, मेडिकल आइसियु र बालबालिका लागि एआइसियु गरी २० आइसियु रहेका छन् । सङ्क्रमण बढिरहँदा आवश्यकताअनुसार नै श्यया बढाउँदै लगिएको निर्देशक शाक्यले बताए । उनले भने, “सङ्क्रमण शुरु हुँदा २१ थियो, आवश्यकतानुसार बढाइएको छ ।”

अस्पतालमा हिजोआज क्षमताभन्दा बढी बिरामी नभएको निर्देशक शाक्यले बताउनुभयो । केही समयपहिले सबैतिर अक्सिजनको अभाव हुँदा सेवा सीमित गर्नुपर्ने बाध्यता थियो । त्यो समयमा तीन सय श्ययामध्ये १५० बिरामी मात्रै भर्ना गर्न सकिने अवस्था थियो । अहिले अक्सिजनको अस्थायी समाधान भएको उनले बताए । अस्पतालमा आइसियुमा क्षताभन्दा बढी बिरामी भएमा अरू अस्पतालमा समन्वय गरेर पठाइने उनले जानकारी दिए ।

सङ्क्रमण अझै बढ्न सक्ने भन्दै अस्पतालले यस वर्ष सजग भएर पहिले नै आवश्यक सङ्ख्यामा पिपिई, पञ्जा र औषधि राखेको थियो । तीन महिनालाई पुग्ने गरी पहिले नै राखिएकाले समस्या नभएको उनले बताए । अस्पताल आफैँले अक्सिजनको व्यवस्थापन गर्न खोजेको छ । अबको दुई सातामा ठूलो अक्सिजन प्लान्ट बनाइने र त्यसका लागि आवश्यक सामान बाटोमा नै रहेको उनले बताए । उनले भने, “दुई सातापछि अक्सिजनमा आत्ममनिर्भर बन्न सकिनेछ ।”

अस्पतालमा आएका बिरामीका आधारमा गत वर्षभन्दा यस वर्ष सङ्क्रमितमध्ये गम्भीर समस्या हुनेको अनुपात बढी छ । पहिले बढी उमेर समूह, दीर्घ रोग भएका व्यक्तिमा मात्रै गम्भीर समस्या भएको थियो । अहिले सबै उमेर समूहमा अक्सिजन वा आइसियु चाहिने देखिन्छ । गत आवमा थोरै सङ्ख्यामा मात्रै सङ्क्रमित भएकाले सरकारले समस्या नभएका सङ्क्रमितलाई समेत भर्ना गरेको थियो । उनले भने, “अहिले गम्भीर भएका मात्रै आइरहेका छन् ।”

अस्पतालले गत वर्ष बनाएको योजनाअनुसार नै कोभिडका लागि लक्षित श्यया छुट्याइरहेको छ । अहिलेसम्म झण्डै आधा श्यया छुट्याइएकामा आवश्यक पर्दा पूरै अस्पतालका ६५० श्यया नै कोभिडका लागि छुट्याएर ‘कोभिड अस्पताल’ बनाउन सकिनेछ । अस्पतालले आवश्यक पर्दा परिसरमा टेन्ट राखेर उपचार गर्न सकिने जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार