अर्थतन्त्र निराशाको अवस्थामा, सचेत नभए दुर्घटनामा जान्छ : उद्योग वाणिज्य महासंघ

नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्र कठिन अवस्थामा रहेको बताएको छ । मंगलबार महासंघमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको प्रथम त्रैमाशिक समीक्षाले अर्थतन्त्रमा देखिएका समस्या समाधान नगर्ने बताएका हुन् ।

महासंघले अर्थतन्त्र निराशाको अवस्थामा रहेको र अब पनि सचेत नभए अर्थतन्त्र दुर्घटनामा पर्ने जनाएको छ ।

नियामकीय अपरिपक्ताले अर्थतन्त्रमा समस्या देखिएको गोल्छाले बताए । कोरोना महामारीमा व्यवसायिक गतिविधी नभएको अवस्थामा बैंक तथा वित्तीय संस्थामा भएको अधिक तरलता उत्पादन मुलक क्षेत्रमा नजाँदा अर्थतन्त्र समस्या आएको उनले बताए ।

‘बैंक तथा वित्तीय संस्थाले धान्न नसक्ने गरी कोरोना महामारीमा कर्जा लगानी गर्दा विदेशी मुद्राको सञ्चिति घट्यो र अर्थतन्त्र समस्यामा परेको हो’, गोल्छाले भने, विदेशी मुद्राको सञ्चिति एक वर्षमा १७ प्रतिशतले घट्यो । अर्थतन्त्रमा समस्या देखिएपछि एक्कै पटक ब्रेक लगाउँदा अर्थतन्त्र संकटमा देखिएको हो ।’

कोरोना महामारीपछि कर्जाको माग बढेको तर निक्षेपभन्दा बढी कर्जा प्रवाह हुँदा अर्थतन्त्र समस्या परेको गोल्छाले बताए ।निक्षेपको ब्याजका कारण अन्य उपलब्धि नभएपनि कर्जाको मात्रै ब्याज बढ्दा उद्यमी व्यवसायी प्रभावित भएको निष्कर्ष महासंघको छ ।

महासंघले तरलता व्यवस्थापन एवं व्याजदर स्थायित्वको माग पनि उठाएको छ। मौद्रिक नीति समिक्षामार्फत वाणिज्य बैंकहरुको औसत व्याजदर अन्तर ४.४ प्रतिशतबाट ४ प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गर्ने घोषणा गरेको छ। यसको निर्देशिका चाँडै ल्याउन महासंघले माग गरेको छ।

स्प्रेडले मात्र मूल समस्या समाधान नगर्ने भन्दै महासंघले जबसम्म बैंक वित्तीय संस्थाको आधार दर घट्दैन, तबसम्म व्याजदर नघट्ने निष्कर्ष निकालेको छ। ‘ब्याजदर नघट्ने हो भने अर्थतन्त्र जोगाउन कठिन हुनेछ। त्यसैले तत्काल बजारमा तरलता प्रवाह गर्ने र ब्याजदर घटाउने उपाय सरकार र केन्द्रीय बैंक दुवैले पहिल्याउनुपर्छ,’ महासंघले भनेको छ।

कार्यक्रममा बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरु अन्जन श्रेष्ठ र दिनेश श्रेष्ठ उपस्थित थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार