नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि रोक्का राखेको सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार आज आइतबार फुकुवा गरेको छ ।
नेप्सेले फुकुवा गरेसँगै अब भोलि सोमबारबाट सेञ्चुरी बैंकको सेयर कारोबार आउने भएको छ ।
प्रभु बैंक र सेञ्चुरी बैंकबीच गत साउन १५ गते मर्जरमा प्रारम्भिक सम्झौता भएको थियो। यो सम्झौतासँगै नेप्सेले सेञ्चुरी बैंकको सेयर कारोबार साउन १६ गतेबाट रोक्का राखेको थियो ।
नेपाल धितोपत्र बोर्ड(सेबोन)ले मर्जरसम्बन्धी निर्देशका लागू गर्दै अब मर्जर प्रयोजनका लागि अब एकीकृत कारोबार सुरु भएपछि मात्रै बढीमा १५ दिन सेयर कारोबार रोक्का राख्न पाउने व्यवस्था गरेको छ। निर्देशिका लागू हुनुअघि मर्जर प्रयोजनका लागि रोक्का रहेका कम्पनीहरुको सेयर सम्बन्धित निकायको सिफारिसमा नेप्सेले तत्काल खोल्नुपर्ने व्यवस्था गर्न पनि निर्देशिकामा गरिएको छ ।
सोही निर्देशिकाबमोजिम नेप्सेको आजको निर्णयले सञ्चुरी बैंकको आधारभूत सेयरधनीबाहेकका अन्य सेयरधनीहरुको सेयर कारोबार फुकुवा गरेको हो ।