गगनका कारण कांग्रेसभित्र हलचल, पार्टीकै उम्मेदवार हराउन षड्यन्त्र गरेको आरोप
'आफूलाई अवरोध गर्नेलाई कमजोर पार्ने गगनको रणनीति'
काठमाडौँ – मंसिर ४ गतेसम्पन्न आम निर्वाचनको मतपरिणाम आउने क्रमजारी छ । यो निर्वाचनमा पहिलो पार्टी बन्नको लागि नेकपा एमाले र नेपाली कांग्रेसक बीच कडा प्रतिस्पर्धा देखिएको छ । समानुपातिक तर्फ एमाले अगाडी छ । भने प्रत्यक्ष तर्फ नेपाली काँग्रेस अगाडी देखिएको छ । यो पटकको निर्वाचनमा सत्ताधारी दलहरु कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादीबीच चुनावी गठबन्धन भएको थियो । तर त्यो गठबन्धनले प्रतिफल भने प्रतिकुल निकालेको छ । गठबन्धनमा कांग्रेसले गरेको व्यापक अन्तरघातका कारण नेकपा माओवादी र एकीकृत समाजवादीको कमजोर नतिजा आएको नेताहरुले बताउँछन् । गठबन्धनभित्र मात्रै होइन यो निर्वाचनमा कांग्रेस भित्रै अन्तरघात भएको स्वर चर्को रुपमा उठ्न थालेको छ ।
विशेष गरी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू प्रधानमन्त्री हुने र प्रधानमन्त्रीको दाबी गरिरहेका पार्टी भित्र र गठबन्धनका नेताहरुलाई कम्जोर पार्ने रणनीतिका कारण गठबन्धनको भविष्य नै संकटमा परेको काँंग्रेसवृत्तमा चर्चा हुन थालेको छ । थापाविरुद्ध कांग्रेस र गठबन्धनका उम्मेदवारविरुद्ध संगठित रुपमा असहयोग गरेको उजुरी समेत परेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर थापाले गठबन्धनका उम्मेदवारलाई अन्तर्घात गरेको उजुरी प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवासमक्ष पुगेको हो।बालुवाटार स्रोतका अनुसार शनिबारसम्म कांग्रेसका तीन जना पराजित उम्मेदवारहरुले देउवासँग भेटेरै थापाले स्वतन्त्र पार्टीसँग मिलेर महामन्त्री थापाले अन्तर्घात गरेको भन्दै उजुरी गरेका हुन्।
गगनकै कारण काठमाडौँमा गठबन्धनका उम्मेदवारहरु पराजित भएको बालुवाटार र खुमलटारमा सुनिने गरेको छ । काठमाडौँ २ बाट ओनसरी घर्ती, काठमाडौँ ८ बाट जीवनराम श्रेष्ठ र ललितपुर ३ बाट पम्फा भुसाल पराजित हुनुमा गगनको गुटगत सर्कूलरले काम गरेको बुझिन्छ । गगनकै कारण चितवनका दुवै निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवार पराजित भएको कांग्रेसका शीर्ष नेताहरुले नै बताउन थालेका छन् । यतिबेला गगन थापासँग कांग्रेसका सभापति शेरबहादुर देउवा मात्रै होइन शेखर कोइराला र प्रकाशमान सिंह समेत रुष्ट देखिएका छन् ।
गगनले काठमाडौं १ मा प्रकाशमान सिंहलाई हराउनका लागि राम्रै कसरत गरेको बुझिएको छ। तर त्यो कसरत भने सफल हुन सकेन । आफ्ना पक्षका नेताहरुलाई सांसद बनाएर देउवा, शेखर, र प्रकाशमान पक्षका नेताहरुलाई पराजित गरि आफू संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बन्ने गगनको महत्वकांक्षी सपनाले यतिबेला कांग्रेस र गठबन्धन भित्रै खैलाबैला उत्पन्न भएको छ । गगनले गठनबन्धनका नेताहरुलाई हराउन राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रयोग गरेको आरोप लाग्न थालेको छ । माओवादी नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले नै सत्ता गठबन्धन हार्नुमा गगनले महत्वपूर्ण भूमिका रहेको बताइसकेका छन् ।
यता देउवालाई कमजोर पार्न डडेल्धुरामा सागर ढकाललाई साथ दिन आफ्नो गुटका व्यक्तिहरुलाई गोप्य सर्कूलर जारी गरेको कांग्रेसकै शीर्ष नेताहरुले बताएका छन् । स्वतन्त्र र युवाहरुको लहरको चर्चा गरेर आफू मजबुत हुने र कांग्रेसका अन्य नेतालाई कम्जोर पार्ने गगनको योजनाले कांग्रेसको शीर्ष पंक्ति असन्तुष्ट बनेको छ । यसले गठबन्धनलाई त असर परेको छ नै कांग्रेसलाई पनि असर गरेको छ । जसका कारण यो निर्वाचनमा अपेक्षित परिणाम आएन । भने कांग्रेस पहिलो पार्टी हुनेमा शंका उत्पन्न भइरहेको छ । अर्को तर्फ नयाँ सरकार गठनको अवसर कांग्रेसले नपाउने सम्भावना बढेको छ । माओवादी र एकीकृत समाजवादीले नयाँ सरकार गठनमा कांग्रेसलाई साथ दिनेमा ढुक्क हुने अवस्था छैन् ।
यति मात्रै होइन काठमाडौंमा लगातार जित्दै आइरहेका कांग्रेसका देउवा, शेखर, र प्रकाशमानका नेताहरु गगनकै कारण पराजित भएका छन् । यस्तै गृहमन्त्री बालकृष्ण खाँणदेखि सुजता कोइरालासम्म पराजित हुनुमा गगनको ठूलो चलखेल भएको बालुवाटारमा चर्चा हुने गरेको छ ।
प्रधानमन्त्री बन्न गगन थापा आवश्यक पर्ने अनेक हतियार र हरेक उपायहरु प्रयोग गर्न तयार छन् । उनले शुक्रबार काठमाडौमा भएको एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री हुनबाट कसैले रोक्न नसक्ने बताएका थिए । यो कुराले उनको महत्वाकांक्षा र प्रधानमन्त्री बन्नका लागि कुन हदसम्म जान तयार छन् भन्ने कुरालाई बुझाउँछ । कांग्रेसका एक जना शीर्ष नेताले नाम उल्लेख नगर्ने सर्तमा गगन थापाकै कारण पार्टीले अपेक्षाकृत नतिजा प्राप्त गर्न नसकेको बताए । उनले सिंगो कांग्रेस गगनको जालसाजीमा फसेको उल्लेख गरे । माओवादी र नेकपा एसलाई धोका दिने कांग्रेसको योजना नभएको तर गगनको व्यक्तिगत सर्कूलरका कारण धोका भएको उनले स्वीकार गरे । यसबाट पार्टी झनै कम्जोर भएको र गठबन्धनको भविष्यमाथि नै संकट उत्पन्न भएको उनको भनाइ थियो ।
उनले भने ‘यो पटकको निर्वाचनमा गगनले निकै ठूलो घात गरे । त्यो घात गठबन्धन र कांग्रेसको विरुद्ध थियो । पार्टीकै नेताहरु हराउन पार्टीकै नेता लाग्ने हो भने भोलि कांग्रेसको अवस्था के होला । गगन चोरबाटोबाट नभइ प्रतिस्पर्धाबाट आउनु पथ्र्यो । त्यसो गरे उनलाई सबैले साथ दिने थिए । तर उनी त आफूलाई प्रधानमन्त्री बन्न अवरोध गर्ने सबैको राजनीतिक भविष्य सक्काउँछु भनेर लागे । यो गलत छ । यसले पार्टी र स्वयम गगनलाई पनि राम्रो गर्दैन ।’
अहिलेको गठबन्धन कुनै राजनीतिज्ञको व्यक्तिगत र निश्चित महत्वकांक्षा पुरा गर्न नभइ राष्ट्रिय आंकाक्षा पुरा गर्न बनेको गठबन्धनका नेताहरु बताउँछन् । तर गगनका पछिल्ला क्रियाकलापले गठबन्धन केही व्यक्तिको फाइदा र स्वार्थमा केन्द्रित भएको पुष्टि हुन्छ । गठबन्धनलाई प्रयोग गरेर गठबन्धकै वली चढाएर गठबन्धन सरकारकै नेतृत्व गर्ने गगनको कसरतले पार्टीलाई मात्रै नभइ राष्ट्रलाई समेत क्षति पुर्याउने विश्लेषकहरुको बुझाइ छ । गठबन्धन भित्रका देउवा, प्रचण्ड र माधव नेपालले देश र जनताका लागि केही योगदान दिएकै छैनन् भनि गगनले परिभाषित गर्ने प्रयास गरीरहेका छन् । अथवा प्रचण्डको नेतृत्वमा भएको जनआन्दोलन, प्रजातन्त्र प्राप्तीका लागि देउवाले गरेको योगदान गगनले विर्सनु किमार्थ उचित होइन । माधव नेपालहरूले आफ्नो पौरखमा जन्माएको, १५ वर्ष नेतृत्व गरेको र ५० वर्ष बिताएको पार्टी परित्याग कुनै व्यक्तिको निश्चित स्वार्थ पुरा गरीदिन गरेका होइनन् ।