डडेल्धुरा प्रदेशसभा २ मा भत्कियो काँग्रेसको किल्ला

डडेल्धुरा – डडेल्धुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भए। उनले ४२५ मतान्तरले नेपाली काँग्रेसका गोविन्दराज बोहरालाई हराए।

सुदूरपश्चिम सरकारका बहालवाला सामाजिक विकासमन्त्री समेत रहेका बोहरा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार थिए। जोशीले ११,१६२ मत पाउँदा बोहराले १०,७३७ मत ल्याए।

डडेल्धुरा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला पनि हो। स्थानीय तहको अंक गणित र माओवादी केन्द्रको सहयोगले जित्नेमा ढुक्क रहेको कांग्रेस अन्ततः पराजय भोग्न बाध्य भयो।

प्रदेशसभा–२ मा जिल्ला सदरमुकामको अमरगढी नगरपालिका, गन्यापधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका र अजयमेरु गाउँपालिका १, २, ३ र ४ पर्छन्। अमरगढी, गन्यापधुरा र नवदुर्गामा कांग्रेसको नेतृत्वमा स्थानीय सरकार छ।

अजयमेरुमा पनि अध्यक्षमा माओवादी र उपाध्यक्ष कांग्रेसले जितेको थियो। यस्तो अवस्थामा पनि जोशीले कांग्रेसको किल्ला भत्काइदिएका छन्। पराजित बोहरालाई देउवाका अति विश्वासिला पात्रका रूपमा लिइन्छ। २०५२ सालमा देउवा प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव भएरसमेत बोहराले काम गरेका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार