चिनियाँ खोप जेठ २५ गतेबाट ६०–६४ वर्षका नागरिकलाई लगाउन थालिने

Image

चीनले अनुदान दिएको कोरोना भाइरसविरूद्धको १० लाख डोज खोप जेठ २५ गतेबाट लगाउन सुरू गरिने भएको छ । स्वास्थ्य मन्त्रालयमा मंगलबार बसेको बैठकले जेठ २५ गतेबाट खोप अभियान सुरू गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार कोभिड–१९ विरुद्धको भेरोसेल खोप देशभरका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दिइने छ । उनले भने, ‘चीनबाट प्राप्त हुने १० डोज खोपले यो उमेर समूहका नागरिकलाई लगभग पुग्ने विश्वास गरेका छौं ।’

चीनले अनुदानमा दिने भनेको १० लाख डोज खोपमध्ये साढे ८ लाख बढी खोप नेपाल आइसकेको छ । जसमध्ये ८ लाख डोज खोप नेपाल एयरलाइन्सले मंगलबार दिउँसो स्वदेश ल्याएको हो । बाँकी २ लाख खोप भने हिमालयन एयरलाइन्सलले ल्याइदिने भनेको छ । जसमा एक लाख डोज मंगलबार ल्याइएको छ भने बाँकी एक लाख बुधबार ल्याइने छ ।

मन्त्रालयका अनुसार ६० देखि ६४ वर्षका नागरिकको संख्या ८ लाख ५४ हजार छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेलकाअनुसार भेरोसेल खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य गरिएको छ । डा. पौडेलले जिल्लाहरूमा खोप पठाउँदा दोस्रो मात्राको सुनिश्चिता गरेर मात्र खोप पठाउने बताए ।