उपत्यकामा एकसाता निषेधाज्ञा थप्ने तयारी, बन्द खाद्य पसल खुलाइने

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई एक साता थप्ने तयारी गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार विगत एक महिनादेखि जारी निषेधाज्ञा केही खुकुलो बनाएर एक साता थप गर्ने तयारी भएको छ ।

कोरोनाभाइरस संक्रमण कम नभएको भन्दै उपत्यकामा जेठ १४ गतेदेखि २० गतेसम्म खाद्य पसलहरु पनि नखुल्ने गरि निशेधाज्ञा थप गरिएको थियो । पछिल्लो पटक थपिउको निषेधाज्ञाको समय सकिनै लाग्दा तिनै जिल्लाका प्रमुख अधिकारीहरुले बैठक बसेर केही खुकुलो गरि एक साता निषेधाज्ञा थप्न लागेको हुन् । यससम्बन्धी निर्णय गर्न काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासनको संयुक्त बैठक आजै (मंगलबार) बस्ने पनि प्रजिअ पराजुलीले बताए ।

‘अहिलेसम्म गरिएको निषेधाज्ञा केही सुधारोन्मुख भएको छ । अहिले संक्रमणदर घट्दै गएको छ भने अस्पतालहरुमा संक्रमितका लागि उपचार गर्न बेड तथा अक्सिजनको अभाव हटेको छ । आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने बारेमा आज थप छलफल गर्दैछौँ’, उनले भने ।

कोरोनाको दोस्रो लहर देखिएपछि सरकारले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार