संवैधानिक इजलासमा आज पुरानै न्यायाधीशबाट सुनुवाइ

संसद विघटनविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा आज तेस्रो दिन सुनुवाई हुँदैछ । शुक्रबार र आइतबारको बहसमा संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश परिवर्तन हुनुपर्ने वकिलहरूले माग गरेका थिए । तर प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलासमा पुरानै न्यायाधीशहरुलाई निरन्तरता दिएका छन् ।

न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई संवैधानिक इजलासमा नराख्न अधिवक्ताहरुले माग गर्दै आए पनि प्रधानन्यायाधीशले मंगलबारको इजलासमा न्यायाधीश परिवर्तन नगरेका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले आज संवैधानिक इजलासको सूची परिवर्तन गर्न सक्ने कतिपय कानूनविदले अड्कलबाजी गरेका थिए । तर, आज पनि प्रधानन्यायाधीशको अध्यक्षतामा न्यायाधीश दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र तेजबहादुर केसीसहितको बेन्चले नै मुद्दाको सुनुवाई गर्ने तय भएको छ ।

नेकपा विभाजन सम्बन्धी फैसला गर्ने न्यायाधीश श्रेष्ठ र पुनरावलोकनको माग अस्वीकार गर्ने केसीलाई इजलासमा राख्दा यसले निष्पक्ष फैसलामा असर गर्ने भन्दै अधिवक्ताहरुले उनीहरुको विकल्प खोज्न आग्रह गर्दै आएका छन् । यही विषयमा प्रश्न उठेपछि शुक्रबार र आइतबारको सुनुवाइ प्रभावित भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार