प्रधानमन्त्रीको आक्रोश : आफूले लेखेर दिएको फैसला पढ्ने न्यायाधीश मात्र मान्ने ?

प्रधानमन्‍त्री केपी ओलीले संसद् विघटनविरुद्ध रिट दिने र बहस गर्ने वकिलहरूको गतिविधिप्रति आक्रोश व्यक्त गरेका छन् । सोमबार युवा संघको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कालोकोट लगाएका केही अराजक व्यक्तिहरूले आफूले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीश मात्र चाहिन्छ भनेर अदालतमा वितण्डा मच्चाइरहेको आरोप लगाए ।

‘लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीश मात्र मान्छौ भनेर कालो कोटधारीले भनिरहेका छन् । उनीहरुले न्यायपालिकालाई कुन हैसियतमा पुर्याउँदैछन् ?’ प्रश्न गर्दै ओलीले भने, ‘यो गम्भीर विषय हो । उनीहरू न्यायाधीश छान्नेमात्र होइन फैसला पनि हामी नै दिन्छौं भन्दैछन् ।’ उनले यस्तो प्रवृत्तिले स्वतन्‍त्र न्यायलयलाई कमजोर बनाउने चिन्ता व्यक्त गर्दै प्रश्‍न गरे, कालोकोटधारी व्यक्तिहरूले अदालतलाई कुन हैसियत र अवस्थामा पुर्याउँछ भन्‍ने प्रश्‍न गरे ।

प्रधानमन्त्री ओलीले संयुक्त वक्तव्य जारी गर्ने पूर्वप्रधानन्यायाधीशहरुप्रति पनि आक्रोश पोखेका छन् । प्रधानमन्त्रीले भने, ‘यसअघि न्यापालिकाको नेतृत्व गरेकाहरुको ताण्डव पनि देखिँदैछ । राज्यको पेन्सन खाएर न्यायलापको हुर्मत लिने ? आफ्नो कार्यकालमा केही नगर्ने, अहिले सडकमा हस्तक्षेपकारी ताण्डव गर्ने ? हाम्रो लोकतन्त्रलाई आउटडेटेड इलेमेन्टबाट जोगाइन्छ, जोगाउँछौं ।’

प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनको उद्देश्य सरकार चलाउन नभएर चुनाव गराउनु रहेको पनि बताए । उनले यो सरकारको गठन हुने वातावरण बनिसकेको अवस्था थियो, विगतमा पनि संविधानको नियोजित व्याख्या गर्ने काम भएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार