प्रधानमन्त्रीको स्पष्टीकरण : भोट आकर्षित गर्ने घटिया काम सरकारले गर्दैन

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावका लागि भनेर भोट आकर्षित गर्ने काम सरकारले नगर्ने बताएका छन् । सोमबार युवा संघको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले भोटका लागि पपुलिस्ट र घटिया काम सरकारले नगर्ने बताएका हुन् ।

मध्यावधि निर्वाचन प्रभावित गर्ने गरी लोक रिझाउने बजेट ल्याएको भन्दै विपक्षी दलहरुले आलोचना गरिरहेका बेला प्रधानमन्त्री ओलीले भने त्यसको खण्डन गरेका हुन् । ‘चुनावका लागि भनेर पपुलिस्ट काम, जनताको सेवा हैन भोट आकर्षित गर्ने काम, देशको विकास हैन भोट आकर्षित गर्ने घटिया काम सरकार गर्दैन,’ ओलीले भने, ‘यो सरकार एउटा चुनाव जितिन्छ कि हारिन्छ भन्ने हैन, एउटा व्यक्ति, एउटा उमेद्वार जित्छ कि हार्छ भन्ने हैन । लोकतन्त्र हार्छ कि जित्छ भनेर हेर्छ । लोकतन्त्रलाई जिताउने यसको कर्तव्य हो । जनतालाई जिताउनु पर्छ । यो मान्यताबाट सरकार दायाँबायाँ हुँदैन ।’

कुन पार्टीले जित्छ कि जित्दैन भन्ने सरकारको प्राथमिकता नभएको उनले बताए । प्रधानमन्त्री ओलीले अघि भने, ‘एउटा चुनाव जितित्छ कि हारिन्छ भनेर होइन लोकतन्त्र जित्छ र हार्छ भनेर हेर्छ । लोकतन्त्र जिताउन चाहन्छ ।’ यो सरकारमाथि चारैतिरबाट घेराबन्दी भएको भन्दै ओलीले त्यसलाई चिर्न युवा संघलाई निर्देशनसमेत दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार