नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले पार्टीको निर्देशन विपरीत सरकारमा गएको भन्दै तीन मन्त्री र तीन राज्यमन्त्रीसहित सातजनालाई कारबाहीको सिफारिस गरेको छ ।
२४ घण्टाभित्र स्पष्टीकरण पेश नगरेको भन्दै प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारका ३ जना मन्त्री र ३ राज्यमन्त्री तथा प्रदेशसभा संसदीय दलका सचेतक दुर्गाकुमारी कामीलाई कारबाही गर्न एमालेको केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो ।
भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद र आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराज कारबाहीमा पर्ने भएका हुन् । भोलि बालुवाटारमा बस्ने स्थायी कमिटी बैठकले उनीहरुको कारबाहीबारे निर्णय गर्नेछ । भोलि बालुवाटारमा बस्ने स्थायी कमिटी बैठकले उनीहरुको कारबाहीबारे निर्णय गर्नेछ ।
एमालेको प्रदेश कमिटिले यसअघि प्रदेश संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलार्ई पनि साधारण सदस्य नरहनेगरी निष्कासन गर्न सिफारिस गरिसकेको छ ।