अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसन न्यूजील्यान्ड भ्रमणमा

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन न्यूजील्यान्डको भ्रमणका लागि आइतबार न्यूजील्यान्डको क्वीन्सटाउन पुगेका छन् । उनलाई न्यूजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले स्वागत गरेकी थिइन् ।

दुई नेताको लामो समयपछि भएको भेटवार्तामा कोरोनाभाइरस महामारीका कारण लामो समय बन्द गरिएको हवाई यातायातलाई पुनः पूर्ववत रुपमै सञ्चालन गर्ने तथा दुबै मुलुकसँग चीनको सम्बन्धमा आएको तिक्तताका विषयमा छलफल हुने अनुमान गरिएको छ ।

कोरोनाभाइरसको संक्रमण फैलिएपछि कडा प्रतिबन्ध घोषणा गरेको न्यूजील्यान्डको भ्रमण गर्ने मोरिसन पहिलो विशिष्ट नेता हुन् । छिमेकी यी दुबै देशले गत महिनादेखि क्वारेन्टिनमुक्त यात्रा खोलेका थिए । तर हालै मात्र अस्ट्रेलियाको मेलबोर्नमा कोभिड–१९ को संक्रमण देखिएपछि भिक्टोरिया राज्यबाट हुने उडान प्रभावित भएका छन् ।

न्यूजील्यान्डले यतिबेला क्यान्टरबरी क्षेत्रमा ठूलो वर्षासहितको बाढीको सामना गरिरहेको छ । भिडियो दृश्यहरुमा हेलिकप्टरको सहायताबाट मानिसको उद्धार गरिएको देखाएको छ । बाढीले हजारौं घरपरिवारलाई विस्थापित गर्ने खतरा उत्पन्न भएको छ ।

क्वीन्सटाउनलाई दुबै नेताको भेटघाटका लागि तोकिनुमा यहाँको पर्यटन व्यवसायलाई पुनर्जीवन दिने प्रयास पनि हो । पर्यटकीय नगर क्वीन्सटाउनलाई कोभिड–१९ को महामारीले ज्यादै नराम्रोसँग प्रभावित बनाएको छ । पर्यटन व्यवसायीले अस्ट्रेलियाली पर्यटक यहाँ आउने आशा गरेका छन् ।

दुबै देशका लागि चीनसँगको सम्बन्ध पनि वार्ताको प्रमुख एजेन्डा हुनेछ । अस्ट्रेलियासँग चीनको सम्बन्ध निकै कमजोर अवस्थामा पुगेको छ । अस्ट्रेलिया सरकारले चिनियाँ प्रविधि कम्पनी हुवावेको सेवालाई अस्ट्रेलियामा प्रतिबन्ध लगाउने तथा कोरोनाभाइरसको उत्पत्तिका सम्बन्धमा चीनमाथि स्वतन्त्र छानबिन गर्नुपर्ने माग गरेपछि चीन र अस्ट्रेलियाबीचको विवाद चुलिएको हो ।

न्यूजील्यान्डले पनि हालैका महिनाहरुमा केही विषयमा चीनको विरोध गर्दै आएको छ । तर चीनसँग अस्ट्रेलियाको भन्दा न्यूजीन्यान्डको सम्बन्ध केही सुमधुर छ । न्यूजील्यान्डकी प्रधानमन्त्री आर्डर्नले मोरिसनसँग कोभिड–१९ को पुनरुद्धारका साथै केही प्रमुख क्षेत्रीय चुनौती एवं सुरक्षा मामिलामा छलफल गर्ने बताएकी छन् ।

उनले संवाददाताहरुसँग भनिन्, “अस्ट्रेलियासँग हाम्रो सम्बन्ध अत्यन्त प्रगाढ र ज्यादै महत्वपूर्ण छ ।”

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार