चिनियाँ खोप लिन नेपाल एयरलाइन्सको विमान आज बेइजिङ जाने

मंगलबार दिउँसो काठमाडौं आइपुग्ने

चीन सरकारले अनुदानमा दिएको कोरोनाभाइरस विरूद्धको खोप ल्याउन नेपाल एयरलाइन्सको जहाज आज बेइजिङ जाने भएको छ ।

नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार चीनले दिन लागेको खोप लिन विमान सोमबार राति ११ बजे बेइजिङ जान लागेको हो । उनले तौल बढी नभएको खण्डमा ८ लाख डोज खोप ल्याउने तयारी गरिएको जानकारी दिएका छन् । उक्त विमान खोप ल्याएर मंगलबार दिउँसो २ बजे काठमाडौं आइपुग्ने छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गत २६ मेमा राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनपिङबीच भएको टेलिफोन वार्तामा चीनका राष्ट्रपति सीले नेपाललाई सहयोगस्वरूप १० लाख खोप उपलब्ध गराउने घोषणा गरेका थिए । चिनियाँ राष्ट्रपतिको सो घोषणा लगत्तै ८ लाख डोज खोप नेपाल आउन लागेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार