एमाले स्थायी कमिटी बैठक आज पनि नबस्ने

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक आज पनि नबस्ने भएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ पाँच बजेका लागि बैठक बोलाएका थिए ।

प्रधानमन्त्री ओलीको व्यस्ततालगायत कारण देखाउँदै उक्त बैठक सोमबार बिहान १० बजेका लागि सारिएको थियो । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार सोमबार बिहान १० बजे बस्ने भनिएको बैठक लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रियसभा निर्वाचनका कारण फेरि स्थगित भएको छ । लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि आज उपनिर्वाचन हुँदैछ । आज सरेको बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको तामाङले बताए ।

पछिल्लो समय एमालेमा ओली समूहले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनालाई साधारण सदस्यबाट निष्काशन गरेको छ ।

प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्न अरू १२ जनालाई पनि स्पष्टीकरण सोधिएको छ । उनीहरूले उक्त स्पष्टीकरणको जवाफ दिएका छैनन् ।

ती सांसदहरूमाथि कारबाही गर्न स्थायी कमिटी बैठक बस्न लागेको बताइएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार