प्रधानन्यायाधीशलाई शम्भु थापाले भने – बिदामा बस्नुस

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई बिदामा बस्न सुझाएका छन् । प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको विषयमा बहस भइरहेका बेला वरिष्ठ अधिवक्ता थापाले राणालाई बिदामा बस्न सुझाव दिएका हुन् ।

वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा लगायतले न्यायाधीशबारे प्रश्न उठाएका छन् । न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले यो मुद्दा हेर्न नमिल्ने उनीहरुको जिकिर छ ।

आइतबार संवैधानिक इजलासमा बहसका क्रममा वरिष्ठ अधिवक्ता थापाले इजलासमा प्रश्न उठे न्यायाधीशहरू नबस्ने प्रचलन रहेको बताएका छन् ।

इजलास गठन गरेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले ‘बायस’ नहुन आग्रह गरे । साथै अघिल्लो संवैधानिक इजलासमा आफू पनि रहेको भन्दै उनले आफ्नो हकमा चाहिं किन प्रश्न नउठाएको भनेर प्रश्न गरेका छन् । ‘मेरोबारे तपाईंको धारणा के छ?’, राणाले सोधे । जवाफमा थापाले भने, ‘श्रीमान् बिदामा बस्नुभए हुन्छ ।’

बहसको क्रममा प्रधानन्यायाधीश जबराले वलिकहरुलाई न्यायाधीश बन्ने अधिकार नरहेको बताउँदै भने, ‘तपाईँहरुको काम बहस गर्ने हो । न्यायाधीश नबन्नुस्, बहस गर्नुस् ।’ उनले ‘संवैधानिक इजलासमा १४ जना न्यायाधीशको नाम छ । म नाम दिन्छु, न्यायाधीश पनि आफै छान्नु हुन्छ ?’ भनेर प्रश्न गरेका थिए ।

इजलासमा न्यायाधीशहरु श्रेष्ठ र केसी राखिँदा अदालतको गरिमामै असर पर्ने भन्दै वरिष्ठतम अधिवक्ता कृष्णप्रसाद भण्डारी तथा वरिष्ठ अधिवक्ताहरु थापासहित गोविन्द बन्दी, महादेव यादव, बद्रिबहादुर कार्की, हरिहर दाहाल, रमण श्रेष्ठ तथा अधिवक्ताहरु टीकाराम भट्टराई, मिथिलेश मियाँले बहस गरेका छन् ।

सम्बन्धित समाचार