आजबाट गण्डकीको बजेट अधिवेशन, विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

सरकारको छिनोफानो यही अधिवेशनबाट

गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ। मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज १ बजेका लागि बजेट अधिवेशन बोलाएकी छिन् ।

दिउँसो एक बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले धारणा राख्ने कार्यसूची रहेको छ ।

भोलिपल्ट बजेटका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गर्ने र त्यसपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ । प्रदेश सरकारलाई असार १ गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता छ ।

बजेट आउनुभन्दा १५ दिनअघि सिद्धान्त र प्राथमिकता सदनमा पेश गर्नुपर्ने कानुनी प्रावधान छ। उक्त प्रावधानअनुसार बजेटका सिद्धान्त र प्राथमिकता भने संसदले पारित गर्नु पर्दैन।

यही बजेट अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने तयारी गरेका छन् । नीति तथा कार्यक्रम प्रस्तुत हुनुभन्दा अगाडि नै विश्वासको मत लिने गुरुङले तयारी गरेका हुन् ।

गण्डकीका प्रदेश प्रमुख पौडेलले बहुमतको सरकार दाबी नपुगेको भन्दै ठूलो दलका नेताका हैसियतमा एमाले नेता पृथ्वीसुब्बा गुरुङलाई वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।

नियुक्त भएको मितिले ३० दिनभित्र उनले विश्वासको मत लिन नसके प्रदेशसभा मध्यावधि निर्वाचनतिर धकेलिने सम्भावना छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार