प्रवासमा भएपनि देशको सेवा गर्न छोडेको छैन : सञ्जय थापा

'गैरआवासीय नागरिकताको विषयलाई प्राथामिकता दिन आवश्यक छ'

काठमाडौँ – प्रतिनिधिसभामा विवादास्पद बन्ने गरेका विभिन्न विषय मध्ये एउटा गैरआवासीय नेपाली नागरिकता दिने वा नदिने भन्ने विषय पनि थियो । पछिल्लो समय सरकारले नागरिकता विधेयक मार्फत गैरआवासीय नेपालीलाई नागरिकता दिने कुरा समेट्ने प्रयास गर्यो । तर उक्त विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि निष्क्रिय बनेको छ । जसका कारण गैरआवासीय नेपालीले नागरिकता पाउने विषय अलपत्र परेको छ । उक्त विधेयक अब कसरी अगाडी बढाउने भन्ने विषयमा सरकार र राजनीतिक दलहरुपनि अन्योलमा छन् । यस्तो अवस्थामा गैरआवासीय नागरिकता प्राप्त गर्न प्रवासमा बस्ने नेपालीहरुले के गर्दैछन् ? भन्ने विषयमा नेकपा(एमाले) निकट प्रवासी नेपाली मञ्चका सल्लाकार प्रमुख सञ्जय थापासँग गरिएको कुराकानीको सम्पादित अंश:

प्रवासमा बसेर पनि तपाईले नेपाली राजनीतिसँग असाध्यै नजिक हुनुहुन्छ ? अहिलेको परिस्थीतिलाई तपाई कसरी विश्लेषण गर्नुहुन्छ ?
प्रवासमा जान भन्दा पहिले पनि म नेपालको राजनीतिमा नै सक्रिय थिए । राजनीतिसँगको माया प्रवासमा हुँदा पनि टुटाउन सकिएन । हुनत विदेश गएपछि सन्दर्भ परिवर्तन भएको छ । तर यहाँको राजनीति बारेको चासो भने कम भएको छैन । पछिल्लो समयको परिस्थीतिलाई विश्लेषण गर्दा नेपालको राजनीतिक अवस्था दयनीय छ । खाली विवाद र आलोचनमा केन्द्रीत छ । अब यसबाट एक स्टेप अगाडी गएर आर्थिक क्रान्तिका लागि राजनीति गर्नुपर्ने आवश्यकता देखिन्छ ।

मुलुक निर्वाचनमा होमिएको छ । ओएनएफको भूमिका यो निर्वाचनमा कस्तो हुनेछ ?
ओएनएफको भूमिका नेकपा एमालेलाई विजयी गराउनु हो । हामी त्यसैमा लागि रहेका छौँ । यो देशको प्रधानमन्त्री केपी शर्मा ओली हुनुपर्छ भन्ने कुरा हामी प्रवासमा हुँदा महसुस गरेका छौँ । यो पटकको निर्वाचन केपी ओलीलाई प्रधानमन्त्री बनाउने की गठबन्धनबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भन्ने विषयमा नै केन्द्रित छ । देउवा र ओलीको तुलना गर्दा ओली धेरै माथि र योग्य हुनुहुन्छ । राष्ट्रयताको कुरामा होस्, या विकास निमार्णका कुरामा होस् सबै रुपले केपी ओली प्रधानमन्त्रीका लागि योग्य हुनुहुन्छ । त्यसैले यो देशको भाग्य र भविष्यका लागि केपी ओली अपरिहार्य नेता हुनुहुन्छ । यी कारणहरुले यो पटकको निर्वाचन एमालेले जित्नुपर्छ ।

तपाईहरु प्रबासमा हुनुहुन्छ । सामान्यतया नेपालमा सम्भावनाको ढोका थुनिएपछि विदेश लाग्नु पर्ने बाध्यता हो भन्छन् । तपाई त नेपालमै पनि सामाजिक र राजनीतिक क्षेत्रमा असाध्यै राम्रो छवि बनाइसकेको व्यक्तित्व हुनुहुन्छ । एक्कासी विदेश लाग्नु भभयो । फेरि पनि नेपालकै राजनीतिमा यति धेरै चासो किन ?
नेपालमा हुँदा सक्रिय राजनीति गरे । राजनीति गर्ने इच्छा हुँदा हुँदै विदेश जानु पर्ने अवस्था सिर्जना भयो । र म विदेश गए । विदेश गइसकेपछि पनि राजनीति प्रतिको माया भने टुटेन । म विदेशमा बसेपनि दिनचर्या भने नेपालका समाचारबाट सुरु हुन्छ । नेपालमा राजनीतिक रुपमा केके परिवर्तन भयो भन्ने समाचारबाट मेरो दिनको सुरुवात हुन्छ । अनि नेपाल पनि अमेरिका जस्तै बनोस् । नेपाल विकसीत भएको छिट्टै देख्न पाइयोस् भन्ने लाग्छ । र नेपाललाई परिवर्तन गर्नका लागि प्रवासबाट नै प्रयास गर्ने उदेश्यले राजनीतिक यात्रा जारी राखेको छु ।

तपाई एनआरएनए अभियान्ता पनि हो । फेरि निश्चित एउटा पार्टीको नजिक रहेर राजनीतिमा यति धेरै सक्रिय हुँदा सबैखाले गैरआवासीय नेपालीका मुद्धा ओझेलमा पर्ने अवस्था देख्नु हुन्न ?
कुनै राजनीतिक पार्टीमा आवद्ध हुँदैमा गैरआवासीय नेपालीको मुद्धा ओझेलमा पर्छन जस्तो लाग्दैन मलाई । किनकी पार्टीमा हुँदा पनि हामीले उठाउने मुद्धा भनेको गैरआवसीय नेपालीको मुद्धा नै हो । अझ यसमा पार्टीले पनि सर्पोट गर्ने हुँदा प्रभावकारी ढङ्गले हाम्रा मागहरु अगाडी बढाउन सकिन्छ । यसले मुद्धा ओझेलमा पर्ने होइन बरु सशक्त तरिकाले अगाडी बढ्छन् ।

खास गरि गैरआवासीय नेपालीको एउटा पेचिलो मुद्धा जुन लामो समय देखि बहसमा पनि थियो नागरिकता विधेयक यो भर्खरै मात्रै माछो माछो मात्रै भ्यागुतो जस्तै भयो । यसको खास कारण तपाईले नै आस्था राख्ने पार्टी नेकपा एमाले हो भन्नेहरु पनि छन् । तपाई के भन्नु हुन्छ ?
हामीले पहिलेदेखि नै मागेको नागरिकताको निरन्तर हो । दुई वटा देशको नागरिकता राख्न पाउनु पर्छ भन्ने हो । हामीले मागेको गैरआवसीय नागरिकता थिइन । पछि संविधान र नेपालका राजनीतिक दलहरुले गैरआवासीय नागरिकता दिने कुरा गरे । हामी पनि सहमत भयौँ । एमालेको सरकार भन्दा गैरआवसीय नागरिकताका लागि हामीले धेरै पहल गर्यौँ । यसले नेपालमा बस्ने नेपाली र विदेशमा बस्ने नेपाली दुवैलाई फाइदा हुनुपर्छ भन्ने छ । तर अहिले आएको नागरिकता विधेयकमा चाँहि राष्ट्रियताको कुरा अलि पेचिलो गरि उठ्यो र त्यो उठ्न पनि पथ्र्यो । हामीले नागरिकता पाउने कुरा भन्दा पनि राष्ट्रियताको कुरा महत्वपूर्ण हुन्छ । राष्ट्रपतिको कदमलाई हामीहरुले स्वागत गरेका छौँ ।

मानौँ सोलोडोलोमा आइरहेको नागरिकता विधेयक राष्ट्रियताका सवालमा सहि थिइन, तर गैर आवासीय नेपालीका लागि भिन्दै रुपमा नागरिकताकोविषय सम्बोधन गराउन राजनीतिक लविङ गर्न सक्ने सम्भावना पनि थियो तर गर्नु भएन हैन ?
हामीले पहिले बुझेनौ । गैरआवासीय नागरिकतालाई फरक तरिकाले अगाडी बढाउने भन्ने कुरामा ध्यान दिएनौँ । त्यो सत्य हो । गैरआवासीय नागरिकता दिँदा प्रवासमा बस्ने नेपालीलाई भन्दा नेपालमा बस्ने नेपालीलाई फाइदा छ । हामी लगानी गर्न खोज्छौँ । नागरिकता नहुँदा धेरै समस्या झेल्नु परेको छ । हामीले बैंकमा पैसा पनि राख्न सजिलै पाउँदैनौ । यसले नेपालमा लगानी भित्र्याउनमा समस्या उत्पन्न हुन्छ । हाम्रो सम्पतीमाथिको अधिकारलाई पनि सुरक्षित गर्नु पर्छ । यसर्थ गैरआवासीय नेपाली र नेपालमा बस्ने नेपालीको समग्र पक्षको विकासका लागि गैरआवासीय नागरिकता पाउनु पर्छ । र नागरिकता दिनुपर्ने कुरामा कसैको पनि दुईमत छैन ।

अब प्रसङ्ग बदलौँ
प्रवासी नेपाली मञ्चको प्रथम अन्तराष्ट्रिय अधिवेशन आगामी साता काठमाडौँमा हुँदै छ । यसको तयारी कसरी अगाडी बढिरहेको छ ?
यसको सम्पूर्ण तयारी सकिएको छ । हामीले भव्यताका साथ कार्यक्रमलाई सम्पन्न पार्ने लक्ष्य राखेका छौँ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसको उद्घाटन गर्दै हुनुहुन्छ । अधिवेशनको मुख्य एजेण्डा नेतृत्व चयन नै हो । प्रवासी नेपाली मञ्चले यो अधिवेशनबाट नयाँ नेतृत्व पाउने छ । यस बाहेका हामी प्रवासमा बस्ने नेपालीले नेपालको विकासका लागि के गर्न सक्छौँ भन्ने विषयमा पनि छलफल हुने छ ।

यहाँको व्यक्तिगत तयारी के छ ? यहाँ सल्लाकार प्रमुख भइसक्नु भएको व्यक्ति । संस्थाको नेतृत्वको बारेमा के सोच्दै हुनुहुन्छ ?
पक्कै पनि संस्थाको नेतृत्वका लागि म योग्य व्यक्ति हु भनेर अन्य साथीहरुले हौसला दिइरहनु भएको छ । मैले प्रवासी नेपालीहरुको हकहितका लागि धेरै काम गरेको छु । र अबका दिनमा पनि त्यसलाई निरन्तर दिन चाहन्छु । साथीहरुको चाहना अनुसार नै म नेतृत्वका लागि तयारी गरिरहेको छु ।

भिडियाे :

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार