रुसको आक्रमणले किभको खानेपानी प्रणाली ध्वस्त

काठमाडौँ – रुसको क्षेप्यास्त्र आक्रमणपछि युक्रेनको राजधानी किभमा खानेपानी संकट चुलिएको छ। पानी वितरण प्रणाली ध्वस्त भएपछि राजधानीका अधिकांश मानिस पानीको लाइनमा बस्नु परेको अधिकारीहरूले जनाएका छन्।

किभका मेयरले राजधानीका ४० प्रतिशत जनसंख्याको पानी प्रणाली ध्वस्त भएको बताएका छन्। तर उपभोक्ताले भने ८० प्रतिशतसम्म घरमा पानी आउन बन्द भएको बताएका छन्। ऊर्जा प्रणालीमा भएको क्षेप्यास्त्र आक्रमणबाट राजधानी किभका २ लाख ७० हजार घरमा विद्युत सेवासमेत अवरुद्ध भएको छ।

देशभर भएको आक्रमणमा १३ जना घाइते भएको जनाइएको छ । रुसले युक्रेनको सैन्य नियन्त्रण र ऊर्जा प्रणाली लक्षित आक्रमण थालिएको र त्यसमा सफल भएको बताएको छ। युक्रेनी सैनिकले रुसले हिजो मात्रै ४५ देखि ५५ वटा शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ।

करिब १० महिनादेखि युक्रेनमाथि आक्रमण गरिरहेको रुसले पछिल्लो समय ऊर्जा, खानेपानी लगायत अत्यावश्यकीय क्षेत्रलाई निशाना बनाइरहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार