राप्रपाको घोषण पत्र : राष्ट्रपति हटाएर राजसंस्था र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री (पूर्णपाठ)
'पार्टी अध्यक्ष र प्रधानमन्त्रीमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने'
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश संरचना खारेजी र राजसंस्थालाई शिरमा राखेर चुनावी घोषणापत्र ल्याएको छ ।
‘दीर्घकालीन सोच, दीर्घकालीन राष्ट्रिय लक्ष्य, दीर्घकालीन मार्गचित्र’ प्रमुख नारा बनाएको राप्रपाले हालको शासकीय स्वरूप प्रदेशको खारेजी गर्दै केन्द्र र स्थानीय तह बलियो बनाउने प्रस्ताव गरेको छ । त्यस्तै देशको अभिभावकका रूपमा राष्ट्रपतिको सट्टा राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद् र हिन्दु राष्ट्र राप्रपाका प्रमुख एजेण्डा रहेका छन् ।
यस्तै एक व्यक्तिलाई दुई कार्यकालभन्दा बढी पार्टीको अध्यक्ष र प्रधानमन्त्री जस्ता कार्यकारी पदमा बस्न नपाउने कानुन बनाउने विषय घोषणापत्रमा उल्लेख गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि राप्रपाले घोषणापत्र जारी गर्दै प्रदेश खारेजी, संघीय र स्थानीय तहलाई बलियो पार्नुपर्ने र प्रदेश संरचना खारेज गर्नुपर्ने मुद्दा पनि अगाडि सारेको छ ।
त्यस्तै प्रवासी नेपालीलाई मताधिकारको व्यवस्था,शिक्षा, स्वास्थ्य र न्याय निःशुल्क र समान, एक परिवार एक रोजगार अवधारणा प्रभावकारी कार्यान्वयन लगायतका एजेण्डा राप्रपाको घोषणापत्रमा उल्लेख छ । राप्रपाले पृथ्वीनारायण शाहलाई आदर्श व्यक्तित्वका रूपमा लिँदै पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवस र राष्ट्रिय पर्वका रूपमा मनाइने व्यवस्थाका साथै उक्त दिन सार्वजनिक बिदा दिने प्रस्ताव घोषणापत्रमार्फत अघि सारेको छ ।