भत्ता बढेपछि ज्येष्ठ नागरिक खुशी : सरकार हाम्रो सहारा

शनिबार दिउँसो बजेट भाषण सुनिरहेका कैलालीको घोडाघोडीका वृद्ध श्यामलाल एक्कासि हौसिँदै खुशीले नाँच्न थाले । यो देखेर घरमा बसिरहेका छोराबुहारी र नाति दङ्ग भए । खुशीले नाँचिरहेका श्यामलालले दुई वर्षीय नातिलाई काँधमा बोक्दै एकछिन आँगनमा खेलाए र भने, ‘‘आजदेखि मेरो पेन्सन एक हजारले बढ्यो । यो सुनेर छोराबुहारी पनि खुशी भए । आफ्नो सक्रिय जीवन सामान्य खेतीपातीमै बिताएका आफ्ना बुबाको पेन्सन कहाँ बढेछ भन्ने उनीहरुमा लाग्यो ।
श्यामलालले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत बृद्धभत्तासहित सामाजिक सुरक्षा भत्ता बढाएको सुनाएपछि छोराबुहारीले बल्ल थाहा पाए बुबाको पेन्सन त सरकारले दिने बृद्धभत्ता पो रहेछ ।

श्यामलाल मात्रै हैन आर्थिक वर्ष २०७८÷७९ को लागि आयव्ययको विवरण प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले वृद्धभत्ता भत्ता बढाएपछि यहाँका सबैजसो बुढापाकाहरू खुशी भएका छन् । मासिक तीन हजारका दरले भत्ता बुझिरहेएका बृद्धबृद्धा त्यसमा थप एक हजार बढेर चार हजार पाउने भएपछि खुशी भएका हुन ।

सरकारले भत्ता बढाएको खबर छोराबाट थाहा पाएका कैलालीको गौरीगङ्गा नगरपालिकाका ७५ वर्षीय हरिबहादुर रोकाया निकै खुशी थिए । मासिक ३ हजार रुपैयाँ बुझ्दै आएका हरिबहादुर मासिक ४ हजारका दरले वृद्ध भत्ता पाउने भएपछि आफ्ना छोरालाई अब त मेरो पनि भत्ता बढेकाले आफूलाई चाहिने समान आफैले किन्न पाउने भएँ भन्दै थिए । ‘‘हाम्रो सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुरीमुरी धन्यवाद । अब तैँले हेला गरिस् भने पनि सरकारले पाल्छ केटा हामीलाई ।’’ पिताको भनाइ उल्लेख गर्दै छोरा कमल रोकायाले भने । विसं.२०५२ सालमा नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला बृद्धभत्ता कार्यक्रम थालनी भएको थियो ।

बृद्धावस्था लागे देखि घरपरिवारमै हेलाँको पात्र हुने गरेका आफूहरूका लागि सरकारले दिँदै आएको भत्ता सन्तानसरह भएको र यही भत्ताका कारण आफूहरूको जीवन चलिरहेको ज्येष्ठ नागरिकको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार