बागलुङको विकासबारे प्रवासी नेपालीसँग छलफल गर्दै पाठक

प्रतिनिधिसभामा बागलुङ १ का उम्मेदवार डा.सूर्य पाठक चुनावी प्रचार प्रसारमा व्यस्त भएका छन् । उनी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग प्रतिस्पर्धामा छन् ।पाठकले घरदैलोदेखि छलफल र अन्तरक्रिया गर्दै आएका छन् भने प्रवासी नेपालीसँग समेत अन्तरक्रियामा सहभागी भएर आफ्नो पक्षमा सकारात्मक माहोल तयार गरेका छन् ।

आइतवार एक भर्चुअल अन्तरक्रिया कार्यक्रममा उनले पहिलोपटक सांसद भएपछि बाग्लुङको सडक, खानेपानी, सिंचाइ र स्वास्थ्यचौकी भवन निर्माणमा प्राथामिकता दिएको बताए । उनले विकासको पूर्वाधारको लागि कनेक्टिभिटी महत्वपूर्ण रहेको बताए । यद्यपि केही काम पूरा गर्न नसकिएको भन्दै पाठकले दोस्रोपटक निर्वाचित भएर ती अधुरा कार्य पूरा गर्ने बताए । मध्यपहाडी राजमार्गको फोटो राखेर गिज्याउन खोज्नेहरुप्रति इंगित गर्दै उनले भने, ‘मैले मध्यपहाडी लोकमार्गको पिच समयसीमाभित्र सक्नुपर्छ भनेर पटक पटक संसदमा बोलेको छु । जिल्लामा सिडियोलगायत सरोकारहरुसँग पटकपटक वार्ता गरेको छु । तर प्रोजेक्ट म्यानेजर र ठेक्दारको मिलोमोतोका कारणले सो राजमार्ग अलपत्र पार्ने काम भयो ।’

पाठकले लापरवाही गर्ने ठकेदारमाथि कारवाही गर्न प्रयास गरिए पनि कानूनबाधक भएको जिकिर गरे । उनले भने, ‘ठेक्का नै रद्द गरेर नयाँ ठेक्का दिएर सडक पिच गर्न सिफारिस गरिएको थियो । तर कानुनले प्रोजेक्ट म्यानेजरको सिफारिसबिना उक्त ठेक्का रद्द गर्न नमिल्ने भएका कारणले हामीले ठेकेदार कम्पनीलाई कारवाही गर्न सकेनौं, अब राज्यभन्दा पनि ठेकेदारहरु बलिया भएका हुन् कि भन्ने प्रश्न उठेको छ ।’ उनले आफूसँग निर्वाचन क्षेत्रमा प्रत्यासी रहेका ८० वर्षीय चित्रबहादुर केसी दुईपटक सांसद र उपप्रधानमन्त्री हुँदा जिल्लाको विकासमा के कस्तो काम गरे भनेर प्रश्न गर्नसमेत मतदातालाई आग्रह गरे ।

पाठकले प्रतिनिधि सभाको सदस्यका रुपमा आफूले कानून निमार्णमा केन्द्रीत हुनुपर्ने भएका कारणलेसंसदलाई केन्द्रबिन्दु बनाए विगत पाँच वर्ष सक्रिय भूमिका खेलेको दाबी गरे । उनले गैरआवासीय नेपालीहरुका हक र अधिकारहरुका नागरिकताको निरन्तरता, मताधिकार, पिएनओलगायतका मुद्दा संसदमा बुलन्द पारेको बताए । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषको दायराभित्र ल्याइनुपर्ने पनि उनको भनाइ थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार