सुदूरपश्चिमका नवनियुक्त ६ मन्त्रीलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माओवादी सरकारमा सहभागी ६ जना मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । शुक्रबार नियुक्त भएका तीन मन्त्री र तीन राज्यमन्त्रीलाई स्पष्टीकरण सोधिएको हो ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र सिंह रावलले आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीलाई स्पष्टीकरण सोधेका हुन् ।

यस्तै राज्यमन्त्रीमा नियुक्त चुनकुमारी चौधरी, अर्चना गहतराज र मना साउदलाई पनि २४ घण्टे स्पष्टीकरण सोधिएको छ । प्रदेश संसदीय दलको सचेतकमा नियुक्त दुर्गा कामीलाई पनि स्पष्टीकरण सोधिएको छ । मन्त्री प्रकाश बहादुर शाहलाई यसअघि नै स्पष्टीकरण सोधेर कारबाही गर्न सिफारिस गरेको थियो ।

उनीहरूलाई स्थायी कमिटीको बैठकको निर्णयविरुद्ध गएर प्रदेश सरकारमा मन्त्री भएको आरोप लगाइएको छ । ओली पक्षका नेताहरु मात्र भएको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै तीन मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो । तर वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बहुमत रहेको प्रदेश संसदीय दलले समर्थन फिर्ता नलिने निर्णय गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार