श्रीमान्को कुटपिटबाट २० वर्षीया सरितादेवीको मृत्यु

सिराहाको गोलबजार नगरपालिका–२ तेतरिया सुनुवार टोलमा श्रीमानको कुटपिटबाट श्रीमतिको मृत्यु भएको छ । शुक्रबार बिहान स्थानीय २२ वर्षीय ललित सदाको कुटाईबाट २० वर्षीया श्रीमति सरितादेवी सदाको मृत्यु भएको हो । टाउकोमा गम्भिर चोट लागेर श्रीमतिको मृत्यु भएपछि प्रहरीले ललितलाई शुक्रबार नै पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईका अनुसार मदिरा सेवन गरेका ललितले घरायसी विषयमा बिहीबार राति पत्नीलाई कुटपिट गरेका थिए । कुटपिटको क्रममा टाउकोमा चोट लागेकी सरिताको बिहानपख मृत्यु भएको स्थानीय बासिन्दाको उजुरीका आधारमा शुक्रबार बिहान ललितलाई पक्राउ गरिएको हो ।

गोलबजार प्रहरीको हिरासतमा रहेका सदालाई शुक्रबार म्याद थप गर्न नभ्याइएकाले आइतबार अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइने प्रहरी निरीक्षक राईले बताए । दुई छोरीकी आमा सरिताको शव लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा पोस्टमार्टम गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार