राष्ट्रपति भण्डारीद्वारा खोप सघाउन आग्रह गर्दै अमेरिकी समकक्षी बाइडेनलाई पत्राचार

राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई पत्र लेख्दै नेपाललाई खोप सहयोग गर्न अनुरोध गरेकी छन् । राष्ट्रपतिले बाइडेनलाई पठाएको पत्र अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले त्यहाँको विदेश मन्त्रालयका वरिष्ठ सल्लाहकार इर्भिन मसिन्गालाई शनिबार हस्तान्तरण गरेका छन् ।

उक्त भेटमा राजदूत खतिवडाले मसिन्गालाई नेपालमा भाइरस महामारीको अवस्था र खोप अभियानबारे अवगत गराएका थिए ।

जवाफमा अमेरिकी स्टेट डिपार्टमेन्टका सल्लाहकार मसिन्गाले नेपाललाई जतिसक्दो चाँडो कोभ्याक्स सुविधा र द्धिपक्षीय संयन्त्रबाट खोप उपलब्ध गराउन अमेरिकाले पहल गर्ने जानकारी दिएको दूतावासले जनाएको छ ।

यसअघि जेठ १२ गते पनि राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई पत्राचार गर्दै नेपाललाई खोप सहयोग गर्न अनुरोध गरेकी थिइन् । त्यसको भोलिपल्ट बिहीबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग टेलिफोन संवाद गर्दै खोप खरिदमा सहजीकरण गरिदिन लागि अनुरोध गरेकी थिइन् । त्यस क्रममा राष्ट्रपति सीले नेपाललाई १० लाख खोप सहयोग गर्ने र खरिदमा सहजीकरण गरिदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार