नेकपा एमालेका उपाध्यक्ष एवं पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेवले गणतन्त्र स्थापना तय गर्दा एमालेमा ३ नेता गणतन्त्रको विपक्षमा रहेको बताएका छन् ।
पार्टीमा गणतन्त्रको प्रस्ताव राख्दा चर्चित झापा संघर्षका तीनजना नेताहरु विपक्षमा उभिएको नेता गौतमले बताएका छन् ।
शनिबार १४ औं गणतन्त्र दिवसका अवसरमा नेता गौतमले एमालेभित्रका गणतन्त्र विरोधी नेताहरुको स्मरण गरेका हुन् । तथापि उनले ती नेताहरुको नाम भने लिएका छैनन् ।
उनले भनेका छन्, ‘विडम्बना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो’ ।
गौतमले राजतन्त्रको अन्त्य र संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव आफुले राखेको बताएका छन् ।
यस्तै नेता गौतमले वि सं २०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरुको रुपमा नेपाली कांग्रेस पार्टीका सभापति गिरिजाप्रसाद कोइराला , नेकपा (एमाले) का महासचिव माधवकुमार नेपाल र नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) सम्झेका छन् ।
‘२०६५ जेठ १५ गतेको अवस्थामा नेपाल ल्याई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो,’ गौतम भन्छन्, ‘उहाँहरुमध्ये गिरिजाप्रसाद कोइराला हामीबीच हुनुहुन्न । अरु, दुईजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ ।’
शनिबार १४ औं गणतन्त्र दिवसका अवसरमा शुभकामना दिँदै नेता गौतमले सबै शहीदहरुलाई श्रद्धाञ्जली र सम्मान प्रकट गर्दै शहीदको सपना साकार पार्न नेपाली जनतालाई दृढतापूर्वक अगाडि बढ्न आह्वानसमेत गरेका छन्।
नेपालमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणाको पृष्ठभूमिमा हजारौँ नेता कार्यकर्ता तथा अन्य जनताको शहादत, त्याग तपस्या र समर्पणले नै सम्भव भएको पनि उनले उल्लेख गरेका छन्।