टी-२० विश्वकप : स्कटल्यान्डको सानदार जित

काठमाडौँ – टी– २० विश्वकपमा वेस्टइन्डिज एशोसिएट राष्ट्र स्कटल्यान्डसँग पराजित भएको छ।

अस्ट्रेलियाको होबर्टमा भएको समूह ‘बी’ अन्तर्गतको पहिलो चरणको खेलमा स्कटल्यान्डले वेस्टइन्डिजलाई ४२ रनले पराजित गर्‍यो। टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्यान्डले सोमबार निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो।

वेस्टइन्डिज १ सय १८ रनमा समेटिएपछि स्कटल्यान्डले सहज जित निकालेको हो। टी–२० वरियतामा सातौं नम्बरमा रहेको वेस्टइन्डिज १५ औं वरियतामा रहेको स्कटल्यान्डसामु निरीह रह्यो।

उसका लागि जेसन होल्डरले ३८ रन बनाउनु नै व्यक्तिगत सर्वाधिक रनका रुपमा रह्यो। थप दोहोरो स्कोरका रुपमा ओपनर केल मयर्सले २० रन बनाउँदा ब्रेन्डन किंग्सले १७ तथा एभिन लुइसले १४ रन बनाएका थिए। स्कटल्यान्डका लागि मार्क वाटले ३ विकेट लिँदा ब्राड ह्वेल र माइकल लेअक्सले २-२ विकेट लिएका थिए।

त्यसअघि पहिलो ब्याटिङ गरेको स्कटल्यान्डले जर्ज मुन्सेको ६६ रनको अर्धशतकीय इनिङमा १ सय ६० रनको स्कोर तयार गरेको थियो। माइकल जोनेसले २० रन बनाउँदा कलुम म्याकलियोडले २३ तथा कप्तान रिची बेरिङटनले १६ रन बनाएका थिए। वेस्टइन्डिजका अलजारी जोसेप र जेसन होल्डरले २–२ विकेट लिएका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार