डेंगुका अधिकांश बिरामीमा घाँटीमा घाउ हुने समस्या

काठमाडौँ – डेंगुका अधिकांश बिरामीहरूमा घाँटीमा समस्या देखापरेको भन्दै सजग रहन चिकित्सकहरुले आग्रह गरेका छन् ।

डेंगु संक्रमितहरुले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेकोे भन्दै सतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका हुन् । अल्का अस्पतालमा कार्यरत चिकित्सक डाक्टर रक्षा गौतमले डेंगु हुँदा भाइरल फ्लूमा हुने धेरै लक्षण मिल्ने बताए । डेंगु हुँदा घाँटी दुख्ने, आँखाको नानी दुख्ने, टाउको दुख्ने, वान्ता आउने, वाकवाक लाग्ने जस्ता लक्षणहरु बढी देखिने उनले बताए ।

डा. गौतमले पछिल्ला दिनहरुमा अस्पताल आउने ९० प्रतिशत बिरामी डेंगुका रहेको पनि बताए । डेंगु, फ्लू र सामान्य रुघाखोकी, ज्वरो लगायतमा केही लक्षणहरु एक आपसमा मिल्ने भएकाले रोग विशेषका लक्षणहरुको पहिचान गरी सतर्क रहन पनि सुझाव दिए ।

डेंगु सरुवा रोग नभएकाले परिवारको सदस्यलाई डेंगु लाग्यो भन्दैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको भन्दै उनले ज्वरो घटेन भनेर चिकित्सकको सल्लाह बिना जथाभावी औषधी सेवन नगर्न पनि आग्रह गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार