सुदूरपश्चिमका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए सपथ

सुदूरपश्चिम सरकारमा नवनियुक्त चार मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सांसदहरु दीर्घ सोडारी, लालबहादुर खड्का, पूर्णा जोशी र मानबहादुर धामीलाई मन्त्री नियुक्त गरेका हुन् । सोडारी, खड्का र जोशी एमाले सांसद हुन् भने, धामी माओवादी केन्द्रका सांसद हुन् ।

नवनियुक्त सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी र उद्योग वन तथा वातावरणमन्त्री मानबहादुर धामीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

त्यस्तै राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउद, अर्चना गहतराज र मानबहादुर सुनारले पनि सपथ ग्रहण गरेका छन् । सुनार माओवादी केन्द्रका सांसद हुन् भने अरु एमाले सांसद हुन् । नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार साँझ प्रदेश प्रमुख गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ गराएका छन् भने राज्यमन्त्रीलाई मुख्यमन्त्री भट्टले शपथ गराएका हुन् ।

एमाले स्थायी कमिटीले गत सोमबार माओवादी नेतृत्वको प्रदेश सरकारलाई समर्थन फिर्ता लिएको र सरकारमा सहभागी मन्त्रीलाई सरकार छाड्न निर्देशन दिएका बेला मन्त्रिपरिषद् विस्तार गरिएको हो । एमालेबाट सहभागी गराइएका सबै मन्त्रीहरु माधव नेपाल समूहका हुन् ।

Loading...