कात्तिकमा कर्जाको ब्याजदर बढ्दै, निक्षेपको नबढ्ने

बैंकहरुले नयाँ -पुराना दुवै ऋणको ब्याजदर बढाउने

कात्तिकमा बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर नबढाउने भएका छन् । असोजमा निक्षेपको ब्याजदर बढाएका बैंकहरुले कात्तिकमा ब्याजदर स्थिर राख्ने भएका हुन् । ब्याजदर बढाएकै भरमा निक्षेप नथपिने र अहिले बढाएको ब्याजदरले बढेको लागत आउँदो माघदेखि मात्र ब्याजदरमा जोड्न पाइने भएकाले कात्तिकमा ब्याजदर स्थिर राख्ने निष्कर्षमा बैकहरू पुगेका हुन् ।

असोज महिनामा बैंकहरुले निक्षेपको ब्याजदर बढाएर प्रकाशित गरेका थिए । नेपाल बैंकर्स संघले असोजसम्म ६ महिनादेखि भद्र सहमति कायम गर्दै सबै बैंकमा एउटै ब्याजदर कायम गरेका थिए ।

राष्ट्र बैंकले साउनमै ब्याजदर बढाउन सन्देश दिएपनि अटेर गरेर बसेका बैंकहरुले एक अर्काबीच निक्षेप खोसाखोस गरेर बसेका थिए । असोजमा निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दतीतर्फ नै बढेर १२.१३ प्रतिशत पुगेको थियो । अब कात्तिक महिनामा पनि यही दर कायम रहने भएको छ । रेमिट्यान्स मुद्दतीको १३.१३ प्रतिशत न्यूनतम ब्याजदर कायमै रहनेछ ।

गत चैत देखि भदौसम्म वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राखेका थिए । जसअनुसार एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर कायम गरिएको थियो । तर गत भदौमा बैंकहरुले १० प्रतिशत बिन्दुले निक्षेपको ब्याजदर बढाएर १२.१३ प्रतिशत बनाउने निर्णय गरे । सोही अनुसार बैंकहरुले असोजको लागि ब्याजदर पनि प्रकाशित गरे ।

राष्ट्र बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरेकोले अहिले साधारण बचतको ब्याजदर पनि ७.१३ प्रतिशत छ । यस्तै राष्ट्र बैंकले व्यक्तिगत मुद्दतीको भन्दा संस्थागत मुद्दतीको अधिकतम ब्याजदर २ प्रतिशत बिन्दु कम गर्नुपर्ने व्यवस्था गरेकोले अहिले संस्थागत मुद्दती निक्षेपको ब्याजदर १०.१३ प्रतिशत कायम छ ।

त्यस्तै  कर्जाको ब्याजदर बढ्ने भएको छ । आउँदो कात्तिकदेखि बैंक तथा वित्तिय संस्थाले कर्जा (नयाँ पुराना दुवै) को ब्याजदर बढाउने भएका हुन्। गत साउनदेखि पुरानो ऋणको ब्याजदर नबढाएका बैंक तथा वित्तीय संस्थाले आधार दर(बेस रेट) मा भएको वृद्धिअनुसार कात्तिकदेखि लागू हुने गरी बढाउने भएका छन्  । गत असारको तुलनामा असोज मसान्तसम्म बैंकहरूको आधार दर औसत ०.६० प्रतिशत बिन्दुले बढ्ने देखिएको छ । सोही अनुपातमा कात्तिकदेखि लागू हुने गरी बैंकहरूले कर्जाको ब्याजदर बढाउने भएका हुन् ।

निक्षेपको ब्याजदर बढेसँगै बैंक तथा वित्तीय संस्थाले हरेक महिना नयाँ कर्जाको ब्याजदर भने बढाइरहेका छन् । तर पुराना ऋणको ब्याजदर बढेको छैन । आधार दरमा आएको परिवर्तनअनुसार बैंक तथा वित्तीय संस्थाले तीन–तीन महिनामा मात्र कर्जाको दर परिमार्जन गर्न पाउँछन् ।

कात्तिकदेखि बैंक कर्जाको ब्याजदर बढ्ने

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार