कोरोना सङ्क्रमितको होम आइसोलेशनमा ज्यान जाँदै

सूर्यविनायक नगरपालिका–३ बालकोटका सञ्जय थापालाई एक्कासि ज्वरो आयो । अहिलेको मौसमले रुघाखोकी लागेको होला भन्दै घरमा श्रीमती मनमायाले सिटामोल खुवाइन। उनलाई पटकपटक तातोपानी, जाउलो र सुप खुवाइन ।

दुई दिनसम्म ज्वरो ओर्लिएन । सरकारले होम आइसोलेशनमै बस्न भनेको छ । दोस्रो दिन मनमायाले विभिन्न अस्पतालमा फोन गरिन, कतै श्यया खाली भएको जानकारी पाइयो । “अस्पतालमा जुनसुकै बिरामी गए पनि पिसिआर परीक्षण नभई उपचार गर्न निजी अस्पतालले नमान्ने रैछन्, सरकारीमा ठाउँ छैन”, उनले भनिन् ।

भक्तपुरकै तीन निजी अस्पतालमा कुरा गर्दा सङ्क्रमितको उपचारमा दिनकै रु ३५ हजार शुल्क लाग्ने र त्यो पनि श्यया छैन भन्ने गरिएको उनको बुझाइ छ । “बाहिर निषेधाज्ञा छ, ज्वरो र खोकीको औषधिले अलि कम भएजस्तो भयो तर निको भएन, तेस्रो दिन पिसिआर परीक्षण गर्ने सल्लाह हुँदै थियो, अचानक दिउँसो १ः०० बजे श्वास फेर्न गाह्रो भो, एम्बुलेन्स र अस्पतालको खोजी गर्दागर्दै कोठामा ज्यान गयो”, उनले सुनाइन ।

शव व्यवस्थापनका लागि नेपाली सेनालाई भन्दा पिसिआर परीक्षणमा कोरोना पुष्टि भएर वडा कार्यालयले मुचुल्का उठाएर शव प्याक गरेपछि मात्रै लैजाने भन्ने जवाफ दिए । त्यो प्रक्रिया नहुने भएपछि आफन्तको सहयोगमा राति १०ः०० बजे पशुपतिमा शव दाह संस्कारका लागि लगियो ।

मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेशनमै बसेका शम्भु कार्कीको अचानक राति अक्जिसनको मात्रा घट्यो । अस्पतालमा श्ययाका लागि हारगुहार गर्दागर्दै बिहान ४ः०० बजे घरमै मृत्यु भयो । कोरोना भएपछि होम आइसोलेशनमा बसेकालाई गाह्रो हुने बित्तिकै अस्पतालमा श्यया नपाउँदा उपचार नै नपाएर ज्यान जाने गरेको बताइएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले होम आइसोलेशनमा रहेका सक्रिय सङ्क्रमितमध्ये ३१ जनाको घरमै मृत्यु भएको जानकारी दिए। त्यसमध्ये गत वैशाखयता मात्रै २१ सङ्क्रमितको होम आइसोलेशनमा मृत्यु भएको उनी बताउछन् । यो सङ्ख्या सङ्क्रमण पुष्टि भएर होम आइसोलेशनमा बसेकाको मात्रै हो । कतिपयले कोरोना सङ्क्रमणको लक्षण देखिए पनि पिसिआर परीक्षण नगर्ने र सामान्य रुघाखोकीको ज्वरो हो भनेर बस्दा घरमै ज्यान जाने सङ्क्रमितको तथ्याङ्क कार्यालयले राख्दैन ।

भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले भाइरससँग मिल्ने लक्षण देखिँदा र सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा रहेकाले पिसिआर परीक्षण नगरी घरमै बस्दा ज्यान जोखिममा पर्न सक्ने बताइन । सङ्क्रमण भएर होम आइसोलेशनमा बसेपछि आवश्यक औषधि चलाउन सकिने र श्वासप्रश्वासमा समस्या भए तत्काल अस्पताल लैजान सकिने उनको भनाइ छ ।

होम आइसोलेशनमा बस्नेले उचित स्वास्थ्य परामर्श नपाउँदा, सामाजिक सञ्जालमा सङ्क्रमितले खाने भनेर राखिएका औषधि हचुवाको भरमा खाँदा ज्यान जोखिममा पर्ने डा गौतम बताउछिन् चिकित्सकसहितको परामर्श दिने व्यवस्था स्थानीय सरकारले समयमै शुरु नगर्दा होम आइसोलेशनमा ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ ।

भक्तपुरमा आजसम्म १९ हजार ३४४ सङ्क्रमितमध्ये तीन हजार ५४२ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख मिजारले जानकारी दिए । अहिले विभिन्न आइसोलेशनमा २०८, होम आइसोलेशनमा तीन हजार ३३४ जना रहेका छन् भने १५ हजार ५५६ सङ्क्रमित निको भएर फर्किएका छन् । सङ्क्रमितमध्ये २४६ जनाको ज्यान गएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार