संवैधानिक इजलासमा विवाद, आइतबारसम्म सुनुवाइ स्थगित

संवैधानिक इजलासको रिट सुनुवाई स्थगित भएको छ । रिट निवेदक पक्षका वकिल र महान्यायाधिवक्ता रमेश बडालबीच विवाद भएपछि प्रतिनिधिसभा विघटन र धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटमाथिको सुनुवाइ स्थगित भएको हो ।

नेकपा एकता बदर गर्ने न्यायाधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको भनेर गोविन्द बन्दी लगायतका कानुन व्यवसायीले आपत्ति जनाएपछि इजलासमा विवाद भएको थियो । विवादकै बीच शम्भु श्रेष्ठ, रमण श्रेष्ठ, टिकाराम भट्टराईलगायतका वरिष्ठ अधिवक्ताहरु बन्दीको भनाइको पक्षमा उभिएका थिए । महान्यायाधिवक्ता रमेश बडालले आपत्ति जनाएर उठेपछि केहीबेर विवाद भएको थियो । विवादपछि प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले आजको सुनुवाइ हेर्दा हेर्दैमा रहेको भन्दै आइतबारसम्मलाई स्थगित गरेका हुन् ।

प्रधानन्यायाधीश जबराको नेतृत्वमा शुक्रबार गठित ५ सदस्यीय संवैधानिक इजलासमा न्यायाधीश श्रेष्ठसमेत परेका हुन् । इजलासमा वरिष्ठ न्यायाधीश दीपककुमार कार्की, आनन्दमोहन भट्टराई र तेजबहादुर केसीसमेत छन् ।

सत्तारुढ नेकपाले आफ्नो पार्टीको नाम जुधाएर निर्वाचन आयोगमा पार्टी दर्ता गराएको भन्दै नेकपाका नेता ऋषि कट्टेलले सर्वोच्च अदालतमा दुई वर्ष पहिले मुद्दा दायर गरेका थिए । सोही मुद्दामा फैसला सुनाउँदै गत फागुन २३ गते न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीले नेकपाको नाम रद्द गर्ने मागमा एमाले र माओवादीलाई समेत अलग बनाइदिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार