अक्सिजन अभावमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सुत्केरीसहित ८ को मृत्यु

पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोभिड–१९ वार्डमा उपचाररत एक सुत्केरी महिलासहित ६ जनाको अक्सिजन अभावका कारण ज्यान गएको छ । हाइफ्लो अक्सिजन दिएर अस्पतालमा उपचार गराइरहेका प्रदेशका विभिन्न जिल्लाका बिरामीले समयमा अक्सिजन नपाउँदा ज्यान गुमाउनुपरेको हो ।

अस्पतालका कोभिड फोकल पर्सन डा. शरद बरालका अनुसार भर्ना भएका कोरोना संक्रमितकोे मृत्यु भएको हो । मृत्यु हुनेहरुमा तनहुँका ३, कास्कीका २, पर्वत, म्याग्दी र स्याङ्जाका १–१ जना रहेका छन् । मृत्यु हुनेमा एक जना डायलसिस गराइरहेका मिर्गौला रोगी, कलेजोसम्बन्धी रोग भएका एक जना र मधुमेहका एक जना रोगी भएको बरालले बताए ।

‘हाई फ्लोमा अक्सिजन दिनुपर्ने अवस्था थियो । हिजो उद्योगबाट असिक्जन आउन आधा घण्टा ढिला भयो, त्यसैले हाई फ्लोमा असिक्जन दिन सकिएन । प्रतिमिनेट ६० देखि ८० लिटर अक्सिजन चाहिनेमा त्यो उपलब्ध नभएकाले ८ जनाको दुःखद निधन हुन पुग्यो,’ डा. बरालले भने ।

अस्पतालमा आवश्यकता अनुरूप अक्सिजनको आपूर्ति नहुँदा बिरामीहरूले ज्यान गुमाउनुपरेको प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले स्वीकार गरे ।

अस्पतालमा अहिले पनि १३ जना बिरामीलाई हाइफ्लो अक्सिजन दिएर राखिएको बताउँदै उनले अक्सिजन दिनपर्ने बिरामीको संख्या बढ्दै गएकोले थप अक्सिजनको व्यवस्था गर्न कठिनाइ भएको बताए ।

अस्पतालमा पोखरा अक्सिजन ग्यास प्रालिबाट आपूर्ति हुँदै आएको थियो । बिहीबार दिउँसो करिब ३० मिनेट विद्युत् आपूर्ति बन्द भएपछि झन्डै ४५ मिनेट उत्पादन बन्द भएको उद्योगले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार