कञ्चनपुरमा एक साता थपियो निषेधाज्ञा

कञ्चनपुरमा निषेधाज्ञाको समयावधि एक साता थप गरिएको छ । उच्चदरमा फैलिदै गइरहेको कोरोनाको सङ्क्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि जिल्ला कोभिड व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले निषेधाज्ञाको समयावधि जेठ १५ देखि २२ गते राति १२ बजेसम्मका लागि थप गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार निषेधाज्ञाको समयावधिमा औषधोपचारलगायत अत्यावश्यक कामका लागि बाहेक घर बाहिर निस्कन र हिँडडुल गर्न निषेध गरिएको छ । सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, तालिम सेमिनार, सिनेमा हल, पार्टीप्यालेस, स्वमिङपुल, सपिङमल, मनोरञ्जन स्थल, सैलुन, ब्यूटीपार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय आदि सञ्चालन गर्न पाइने छैन । स्वास्थ्य सेवा, दूध डेरी तथा पेट्रोलियम पदार्थसम्बन्धी पसल व्यवसायबाहेकका अन्य पसल व्यवसाय सञ्चालन गर्न पाइने छैन ।

तरकारी तथा फलफूलको हकमा सम्बन्धित स्थानीय तह र उद्योग वाणिज्य सङ्घको समन्वयमा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी हरेक आइतबार र बुधबार बिहान ६ देखि ९ बजेसम्म घुम्ती पसल सञ्चालन गर्न पाइने छ । खाद्यवस्तुका पसल व्यवसाय हरेक आइतबार र बुधबार बिहान ६ देखि ९ बजेसम्म जनस्वास्थ्य सुरक्षाको मापदण्डको पूर्णपालना गर्ने गरी सञ्चालन हुनेछन् । त्यसैगरी अत्यावश्यक मालसमान ढुवानीका साधनबाहेक अन्य सबै सार्वजनिक एवं निजी सवारी साधन सञ्चालन गर्न पाइने छैन ।

राष्ट्रिय गौरवको आयोजनाको हकमा निर्माण सामग्री, उपकरण, कामदार निर्माणस्थलमानै राखी निर्मण गर्नेबाहेक सबै स्थगन गरिएको छ । सञ्चारकर्मीको हकमा पत्रकार महासङ्घको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट साविकमा उपलब्ध गराइएको पास वा सूचना प्रसारण विभागबाट जारी भएको पत्रकार परिचयपत्रका आधारमा आवतजावत गर्न सकिने छ । खुला सिमानाको जुनसुकै बिन्दुबाट आवागमन निषेध गरिएको छ । नेपाल प्रवेश गर्ने कञ्चनपुर जिल्लाको हकमा सम्बन्धित स्थानीय तहको समन्वयमा गन्तव्यतर्फ पठाइने व्यवस्था गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार