सन्दीप लामिछाने आज नेपाल आउँदै, विमानस्थलबाटै पक्राउ गर्ने प्रहरीको तयारी

विमानस्थलमा कडा निगरानी

नेपाली क्रिकेटर सन्दीप लामिछाने आज बिहान नेपाल आइपुग्दैछन्। किशोरीलाई बलात्कार गरेको आरोप लागेका उनले सामाजिक सञ्जालमार्फत बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्रराष्ट्रिय विमानस्थल काठमाडौँ आइपुग्ने जनाएका हुन्।

‘प्रहरी अधिकारीसमक्ष आत्मसमर्पण गर्ने प्रतिबद्धता बमोजिम म बिहान १० बजे कतार एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछु’, उनले लेखेका छन्, ‘मैले यसबारे प्रहरी अधिकारीलाई जानकारी गराइसकेको छु।

‘ममाथि लागेको गलत आरोपविरुद्ध छिट्टै कानुनी सहयोग खोज्नेछु र न्याय पाउनेमा विश्वस्त छु।’ उनले लेखेका छन्, ‘छिट्टै क्रिकेट मैदानमा फर्केर मेरो प्यारो देशको नाम र कीर्तिमान बनाउनेछु र छिटोभन्दा छिटो न्यायको कामना गर्दछु ।’

यस्तै उनी नेपाल आएलगत्तै विमानस्थलबाटै पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान गर्ने प्रहरीको तयारी छ।

सन्दीप विरुद्ध १७ वर्षीया किशोरीले भदौ २१ मा जबर्जस्ती करणीको कसुरमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन् । उनले नाबालिगलाई भक्तपुरको चाँगुनारायण नगरपालिका-८ सुडालस्थित बोजिनी रिसोर्टमा दुई घण्टा राखेको भेटिएको छ ।

भदौ ५ मा सन्दीपले आफूलाई नगरकोटस्थित विभिन्न होटलमा घुमाएर फर्केपछि राति एयरपोर्टस्थित होटेल ‘काठमाडौं इन’मा लगेर पटक-पटक बलात्कार गरेको १७ वर्षीया नाबालिगको आरोप छ । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ । बलात्कार आरोपमा सन्दीपलाई पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ ।

त्यस्तै भदौ २३ मा उनलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले कप्तानबाट निलम्बन गरेको थियो । क्रिकेट सङ्घले निलम्बन गरेपछि सन्दीपले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत आफू निर्दोष रहेको भन्दै कानुनी लडाइँ लड्ने बताएका थिए ।

यस्तै यता लामिछानेलाई अध्यागमनले कालोसूचीमा राखेको छ। पक्राउ पुर्जी जारी भएपछि अध्यागमनले उनलाई कालोसूचीमा राखेको हो । उनलाई  प्रहरीले विमानस्थलबाटै पक्राउ गर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार