प्रधानमन्त्री ओली र विप्लवबिच भेटवार्ता, बन्दी रिहाईबारे छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच सोमबार भेटवार्ता भएको छ । महासचिव विप्लव प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । भेटमा उनले सरकारसँग भएको सहमतिअनुसार आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा गर्न ढिला किन भयो ? भनेर प्रश्न गरेका छन् । नेकपा र सरकारबीच गत फागुन २१ गते नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, हिरासत र कारागारमा रहेका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो ।

सोमबारको भेटमा विप्लवले उक्त सहमति कार्यान्वयनमा ढिला भएको भनी सरकारको ध्यानाकर्षण गराएका हुन् । जवाफमा प्रधानमन्त्री ओलीले सहमतिअनुसार नै प्रक्रिया सुरु भएको र क्रमशस् बन्दी रिहा हुने जानकारी गराएको नेकपा केन्द्रीय सदस्य उदयबहादुर चलाउनेले बताए । नेकपाका अनुसार अझै एक सय ४८ जना नेता कार्यकर्ता जेलमै रहेका छन् । छलफलमा नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि सहभागी थिए । यसअघि तीन बुँदे सहमति पत्रमा हस्ताक्षर हुने दिन बिहान प्रधानमन्त्री र विप्लवबीच बालुवाटारमा भेट भएको थियो ।

पार्टीमाथिको प्रतिबन्ध फुकुवा भएपछि महासचिव विप्लव शहिद परिवार तथा अपांग, घाइते योद्धा तथा पार्टीका नेता कार्यकर्तासँग भेटघाटमा व्यस्त छन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार