गाउँ फर्केर ड्रागन फल र कागती खेती, वार्षिक १२ लाखसम्म आम्दानी

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका कृषक शम्भुप्रसाद नेपालले फलफूल खेतीबाट राम्रो आम्दानी गरेका छन्। उनले व्यावसायिक ड्रागन फल र कागती खेतीबाट वार्षिक बाह्र लाखसम्म आम्दानी गर्दै आएको बताए।

सुख्खा क्षेत्रमा पनि राम्रो उत्पादन हुने भएपछि किसानले ड्रागनको व्यावसायिक खेती गरिरहेका छन्। दस वर्षअघिबाट व्यावसायिक खेती थालेका उनले एक हजार पाँच सय पिलरमा ड्रागन लगाएका छन्। अहिले तीन सय वटा पिलरमा लगाएको ड्रागनले उत्पादन दिन थालेको छ।

आठ सय ५० केजी बिक्री गरिसकेको र एक हजार केजीको हाराहारीमा टिप्न बाँकी रहेको नेपालले जानकारी दिए। त्यस्तै नेपालले १८ रोपनी क्षेत्रमा कागतीको व्यावसायिक खेती गरिरहेका छन्। फलफूल खेतीबाट वार्षिक बाह्र लाखसम्म आम्दानी हुने गरेको कृषक नेपालले बताए।

‘फलफूल खेतीबाट राम्रै आम्दानी गरिरहेको छु,’ उनले भने, ‘वर्षमा बाह्र लाखसम्म आम्दानी हुन्छ। विस्तार गरेको सबै ठाउँबाट उत्पादन हुने हो भने अझ आम्दानी बढ्छ।’

नेपालले अहिले आफ्नो पुर्ख्यौली भूमिमा करिब १७ रोपनी क्षेत्रफलमा ड्रागन फल लगाएका छन्। ड्रागन फल रातो प्रतिकेजी पाँच सय र सेतो प्रतिकेजी चार सय रूपैयाँमा बिक्री हुने गरेको छ। त्यस्तै कागती फार्मबाट प्रति केजी एक सय रूपैयाँमा बिक्री हुने गरेको छ।

यहाँ उत्पादन भएको फल स्थानीय बजारसँगै काठमाडौं जाने गरेको छ। सडकको कारण बजारसम्म पुर्‍याउन भने सास्ती हुने गरेको कृषक नेपालको भनाइ छ। कच्ची सडक वर्षातले हिलाम्य हुँदा उत्पादित वस्तुलाई ढुवानीमा समस्या छ।

‘मैले यहाँको उत्पादनलाई बढी मात्रामा काठमाडौं पठाउने गरेको छु,’ नेपालले भने, ‘बजार माग राम्रो छ। तर सडकको कारणबजारसम्म लैजान समस्या छ। सडक राम्रो भए अझ राम्रो आम्दानी लिन सकिन्थ्यो।’

नेपालले ‘दानाबोटे फलफूल तथा कृषि फर्म’ दर्ता गरेर व्यावसायिक फलफूल खेती थालेका हुन्। जिल्लामा पहिलो पटक व्यावसायिक रूपमा ड्रागनको खेती थालेका नेपाल उदाहरणीय कृषकको रूपमा परिचित छन्। उनले २२ वर्ष विराटनगरमा बिताएर गाउँमा फर्केर व्यावसायिक खेतीमा लागेको सुनाए। व्यवसाय गर्न विराटनगरमा रहेको घर बिक्री गरेर गाउँ आएको उनको भनाइ छ।

उहाँले भन्नुभयो, ‘२२ वर्ष विराटनगर बसेँ। गाउँ फर्केर व्यावसायिक खेतीमा लागेको छु। गाउँमा फर्केर आएर खेती गर्दा यहाँका साथीहरूले धेरै थरीका कुरा पनि गरे। अहिले म व्यवसायमा सफल बन्दै गएको छु।’

आफैंले यसको बिरुवा उत्पादन थालेको नेपालको भनाइ छ। ड्रागन फल लागेको ४५ दिनमा खान मिल्ने उनले बताए।

पाकेको ड्रागन फललाई लामो समयसम्म सामान्य तापक्रममा भण्डारण गर्न सकिने हुनाले चाँडो बिग्रने समस्या हुँदैन। प्राविधिकका अनुसार रोपेको दुई वर्षपछि ड्रागनबाट फल लिन सकिन्छ। ड्रागनको एउटै बोटबाट धेरै वर्षसम्म फल लिन सकिने नेपालको भनाइ छ। आफ्नो फर्ममा तीन सय ग्रामदेखि नौ सय ग्रामसम्मको फल फलेको उनको भनाइ छ।

व्यावसायिक रूपमा खेती गरिरहेको भए पनि राज्यको तर्फबाट सहयोग नपाएको उनले गुनासो गरे। आफूले गरिरहेको कामको धेरैले प्रशंसा गरे पनि अन्य सहयोग नपाएको उनको भनाइ छ।

कृषक नेपालले भने, ‘मैले खेती गरेको देखेर हौसला दिने धेरै छन्। सरकारबाट खास सहयोग पाएको छैन। फार्मसम्म आउनको लागि सडक नहुँदा डोकोमा बोकेर सडकसम्म लैजाने गरेको छु।’

गाउँका अन्य कृषकलाई समेत व्यावसायिक कृषिमा लाग्ने हौसला दिँदै आएको उनको भनाइ छ।

सिउडी प्रजातिको फल भएकाले यसको खेतीका लागि त्यति धेरै पानी, मलखाद र हेरचाह आवश्यक पर्दैन। यसको खेतीको लागि दक्षिण मोहडा भएको प्रशस्त घाम लाग्ने जमिन उपयुक्त हुन्छ। समुद्री सतहदेखि एक हजार पाँच सय मिटरसम्म उचाइमा खेती गर्न सकिन्छ। कम सिँचाइमा पनि उत्पादन दिने भएकाले सुख्खा क्षेत्रमा पनि खेती गर्न सकिने कृषक बताउँछन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार