दशैंमा यसरी बनाउनुहोस् खसीको पक्कु

दशैंमा खसीको मासुका परिकार सबैका घरमा पाक्छ । खसीको मासुको व्यापार पनि बढी हुन्छ ।

फ्रिज नभएको अवस्थामा मासु बढी हुँदा बिग्रिने सम्भावना धेरै हुन्छ । फ्रिजमा नभएको अवस्थामा खसीको मासुलाई खानयोग्य हुने गरी धेरै दिनसम्म राख्नका लागि पक्कु बनाइन्छ ।

दशैंमा खसीको पक्कु बनाउने प्रचलन नेपाली समाजमा पुरानै हो । पक्कु बनाएर पनि खसीको मासु बिग्रिएको गुनासो धेरै जनाको हुन्छ । धेरै दिन पछिसम्म पनि खान योग्य हुने गरी पक्कु बनाउन त्यसमा कुन कुन मसलाहरु कति मात्रा राख्ने र कति समयसम्म पकाएर राख्ने त्यसको जानकारी हुन जरुरी हुन्छ ।

धेरै दिनसम्म खान योग्य हुने गरी कसरी स्वादिलो खसीको पक्कु बनाउन सकिन्छ त ? यहाँ हामीले पक्कु बनाउने विधि उल्लेख गरेका छौं ।

आवश्यक पर्ने सामग्रीहरु :
काँचो धनियाँ र जिरा, बेसार, रातो धुलो खुसार्नी, तोरीको तेल, ल्वाङ, सुकमेल, दालचिनी, तेजपत्ता र गरम मसाला ।

पक्कु बनाउने तरिका :
मासुको पिस केही ठूलो बनाउनुहोस् । धनियाँ र जिरालाई भुटेर पिस्ने । बजारमा पाइने रेडिमेड धनियाँ र जिराको धुलोभन्दा घरमा नै बनाइएको प्रयोग गर्दा उपयुक्त हुन्छ ।

यदी १ केजी खसीको मासुको पक्कु बनाउने हो भने १ चम्चा बेसार, ३ चम्चा भुटेको जिरा धनियाँको धुलो, आधा चम्चा गरम मसला, स्वादअनुसार खुर्सानीको धुलो, सानो कचौराको १ कचौरा काँचो तोरीको तेल मासुमा राखेर राम्रोसँग मिक्स गर्ने । मसाला मिक्स गर्दा थोरैमा पनि ५ मिनेटसम्म मोल्दा त्यो मसलाहरु मासुभित्र राम्रोसँग पसेर पक्कुको स्वाद अझ स्वादिलो हुन्छ । यसरी मिक्स गरिएको खसीको मासुलाई न्यूनतम १ घण्टा राम्रोसँग छोपेर राख्नुपर्छ ।

पक्कु बनाएरु धेरै दिनसम्म राख्ने हो भने त्यसमा नुन राख्नु हुँदैन तर तुरुन्तै खाने पक्कुमा स्वादअनुसार नुन मासुमा राखेर मिक्स गर्ने । नुनले खानेकुरालाई छिट्टै गलाउने हुँदा धेरै दिनसम्म राख्ने पक्कुमा नुन प्रयोग नगरि बनाएर खाने बेलामा मात्र नुन राखेर खाँदा राम्रो हुन्छ । साथै, पक्कुमा अदुवा लसुन, प्याज, टमटर केही पनि प्रयोग गरिदैँन । पक्कु सादा बनाउदा नै धेरै दिनसम्म राखेर खान सकिन्छ ।

खसीको पक्कुलाई कराइमा भन्दा कसौडी (भड्ड्, भाँडा) मा पकाउँदा स्वादिलो हुने र राम्रोसँग पाक्ने हुँदा सम्भव भएसम्म कसौडीमा पकाउँदा राम्रो हुन्छ ।

चुलोमा कसौडी बसाएर कसौडी तातिएपछि मसला मिक्स गरी राखिएको मासुलाई कसौडीमा हाल्ने । मधुरो आगोमा कसौडीको मासु बेला–बेलामा चलाउँदै गर्ने । मासुको पानी सुकेर केही रातो भएपछि त्यसमा ल्वाङ, सुकमेल, दालचिनी, तेजपत्ता मासुमा राखेर चलाउने ।

मासुमा ल्वाङ, सुकमेल, दालचिनी, तेजपत्ता राखेर चलाएपछि मन्ध आगो बनाएर छोपिदिने र १५/२० मिनेटको बीचमा चलाउदै गर्ने । मासुको पानी सुकेर तेल निस्किन थालेपछि मासुलाई केही बेर नछोपी पाक्न दिने । मासु दाह्रो हुनेसम्म पकाएपछि आगोबाट निकाल्ने । यसरी खसीको मासुको पक्कु तयार हुन्छ ।

धेरैदिन पछिसम्म पनि पक्कुलाई खानयोग्य राख्नु छ भने सफा कसौडीमा नै पक्कुमा राख्ने कसौडीको माथिबाट हावा छिर्ने मिल्ने गरी केही पातलो कपडाले छोपेर ओसिलो ठाँउमा राख्नु पर्दछ । यसरी बनाइएको खसीको पक्कु १ हप्ता पछिसम्म पनि खान योग्य नै हुन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार