कांग्रेसले आयोगमा बुझायो संशोधित समानुपातिक बन्दसूची

शेखर पक्षलाई २५ प्रतिशत

प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार चयनको विषयलाई लिएर पार्टीभित्रको विवाद सुल्झाउँदै नेपाली कांग्रेसले समानुपातिकतर्फको संशोधित बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव तथा राष्ट्रिय सभा सांसद कृष्णप्रसाद पौडेलले संशोधित बन्दसूची आयोगमा बुझाएको जानकारी दिएका छन् ।

पौडेलका अनुसार पार्टीभित्र प्रतिनिधिसभाको समानुपातिक बन्दसूचीमा रहेका नेताहरूको नामबारे भएको विवाद समाधान भएको छ । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहितका पदाधिकारी बसेर बन्दसूची संशोधन गरिएको उनको भनाइ छ ।

निर्वाचन आयोगले असोज २ र ३ गते बुझाएको बन्दसूचीमाथि हेरफेरका लागि आजसम्म समय दिएको थियो । सोही समयमा कांग्रेसले असोज ३ मा पेस गरेको बन्दसूची संशोधन गरेको हो ।

कांग्रेसमा नेता शेखर कोइराला पक्षले यसअघि समानुपातिकमा एकलौटी गरिएको भन्दै विरोधमा उत्रिएको थियो । कोइराला पक्षका दोस्रो र तेस्रो तहका नेताहरूले समानुपातिक बन्दसूची सच्याउन माग गर्दै खबरदारी भेला, बैठक र धर्नासम्म गरेका थिए ।

समानुपातिकमा करिब २५ प्रतिशत हिस्सा कोइराला पक्षलाई दिएपछि देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलाई आफूले राखेको ७५ प्रतिशतभित्रै समेट्ने भएका छन् ।

कोइराला पक्षले १२ जना सांसद हुने गरी आफू पक्षीय नेताको नाम राख्न भनेको थियो । कोइराला पक्ष त्यसमा केही घटेको कांग्रेसका एक पदाधिकारीले रातोपाटीलाई बताए । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेल, सचिवद्वय प्रेम केसी र कृष्णप्रसाद दुलाल निर्वाचन आयोग पुगेर असोज ३ मा बुझाएको नाममा हेरफेर गरेका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार