भारतले मुकेश अम्बानीलाई किन दियो जेड प्लस सेक्युरिटी ?

भारतको केन्द्रीय गृह मन्त्रालयले उद्योगपति मुकेश अम्बानीको सुरक्षा बढाएर जेड प्लस बनाएको छ । रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीलाई २०१३ देखि जेड श्रेणीको सुरक्षा थियो।

समाचार एजेन्सी पीटीआईका अनुसार खुफिया एजेन्सीहरूबाट प्राप्त जानकारीपछि मुकेश अम्बानीको सुरक्षा बढाइएको हो ।

अब ४० देखि ५० कमाण्डोले विभिन्न शिफ्टमा अम्बानीको सुरक्षा गर्नेछन्। सुरक्षा खर्च अम्बानी आफैंले व्यहोर्नेछन् ।

गत वर्ष अम्बानीको निवास एन्टिलिया बाहिर विस्फोटक पदार्थ भेटिएपछि गृह मन्त्रालयले उनको सुरक्षा बढाउने विचार गरिरहेको थियो। मुकेश अम्बानीकी पत्नी नीता अम्बानीसँग वाई श्रेणीको सुरक्षा छ ।

फेब्रुअरी २०२१ मा अम्बानीको घर बाहिर पार्क गरिएको कारमा विस्फोटक पदार्थ फेला परेको थियो। राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए)ले यस मामिलामा अनुसन्धान सुरु गर्‍यो र मुम्बई पुलिसका सहायक पुलिस निरीक्षक सचिन वाजेलाई षड्यन्त्रको मामिलामा पक्राउ गरिएको थियो।

जेड प्लस भारतको दोस्रो ठूलो सुरक्षा कभर हो। अगस्टमा मुकेश अम्बानी र उनको परिवारलाई धम्की दिएको आरोपमा मुम्बई प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको थियो।

सर्वोच्च अदालतले जुलाई २०२० मा केन्द्र सरकारलाई मुकेश अम्बानी र उनको परिवारको सुरक्षा कभर जारी राख्न अनुमति दिएको थियो। गत महिना अदानी समूहका अध्यक्ष गौतम अडानीलाई पनि केन्द्र सरकारले जेड श्रेणीको सुरक्षा प्रदान गरेको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार