काँग्रेसभित्र विवाद बढ्दै, विद्रोह गर्ने शेखर पक्षको चेतावनी

सबैलाई न्याय र समान अवसर हुनुपर्ने माग

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूह आन्दोलनरत छ। पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायको निम्ति भन्दै असन्तुष्ट भएर पार्टीविरुद्ध आन्दोलनमा उत्रिएको हो।

उनीहरूले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नासमेत दिएका छन्। धर्नामा सहभागी नेताले आसन्न प्रतिनिधिसभाको निर्वाचन प्रयोजनका लागि समानुपातिकको बन्द सूचीमा संस्थापन पक्षले एकलौटी गरेकाले धर्नामार्फत खबरदारी गर्न बाध्य भएको बताएका छन्।

पार्टीभित्र सबैलाई न्याय र समान अवसर हुनुपर्ने आफूहरूको मनसाय रहेको नेता जगदीश नरसिंह केसीले बताए। शेखर कोइराला पक्षका नेताहरूको नाम समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित नहुने गरी बन्द सूचीमा राखिएको उनको आरोप छ।

‘समान न्याय र अवसरका लागि, पार्टीभित्र सबैलाई न्याय होस्। सबैले समान अवसर पाउन् भन्ने नै हाम्रो मनसाय हो। जुन परिस्थिति सिर्जना भयो‚ समानुपातिकको नामावली सूचीपछि हामीलाई अलिकति सशंकित बनायो। किनभने समानुपातिक सूचीमा जसरी नाम राखिएको छ‚’ उनले भने, ‘निर्वाचित नहुनेगरी केही साथीहरूको नाम छ। त्यसको अर्थ नाम झुन्डियाइदिएको छ तर त्यो नाम निर्वाचित हुन सक्दैन।’

समानुपातिक बन्द सूचीमा रहेका नामहरू सच्याउनुपर्ने र प्रत्यक्षमा टिकट दिँदा पनि संस्थापनइतर समूहलाई समान अवसर दिनुपर्ने आफूहरुको माग रहेको उनीहरूले उल्लेख गरे।

पार्टीको इतर समूहका नेता समानुपातिकतर्फबाट कोही पनि निर्वाचित नहोस् र भोलि प्रत्यक्ष टिकट दिँदा पनि हरेक ठाउँमा त्यही ढंगले अन्यायपूर्वक निर्णय हुन थाल्ने उनीहरूको आशंका छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार