बजेट भाषण शनिबार अपराहन्न ४ बजे प्रधानमन्त्री कार्यालयबाट हुने

आर्थिक सर्वेक्षण भोलि २ बजे

सरकारले आगामी आर्थिक वर्षको बजेट भने अध्यादेशमार्फत ल्याउने तयारी गरेको छ । नयाँ संविधान आएपछि पहिलो पटक अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने भएका छन् ।

सोही अनुसार अर्थमन्त्री पौडेलले शनिबार अपराहन्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट बजेट सार्वजनिक गर्ने भएका छन् । दुवै संसदको संयुक्त बैठकमा बजेट भाषण गर्ने परम्परा रहेकोमा यसपाली प्रतिनिधिसभा नरहेकाले वैकल्पिक उपाय अपनाइएको हो । बजेट पुस्तक छाप्न शुक्रबार साँझसम्म प्रेसमा जाने भएको छ भने बजेटको मस्यौदा तयार भइसकेको छ ।

आर्थिक सर्वेक्षण शुक्रबार (भोली( २ बजे सार्वजनिक हुने भएको छ । मन्त्रालयमै सार्वजनिक गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ । जुमबाट सार्वजनिक गर्ने कार्यक्रम राखिएको छ भने फोटो तथा भिडियोको लागि सिमित पत्रकारलाई अर्थमन्त्रालयको सो कार्यक्रममा प्रवेश दिने गरी तयारी गरिएको छ ।

यस्तै सरकारले १५ दिनअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि राजनीतिक संकट गहिरिएपछि यो प्रचलन पनि यसपाला तोडिएको छ । नीति तथा कार्यक्रममा टेकेर बजेट निर्माण हुने गरेको थियो ।

बजेट भाषणका अन्य प्रक्रियाहरु पनि छाँटिएका छन् । कामचलाउ सरकार भए पनि चुनावलाई लक्षित गरी धेरै लोकप्रिय कार्यक्रम आउने अनुमान गरिएको छ । सरकारले करको दरलगायत चुनावमा प्रभाव पार्ने केही काम गर्न नपाउने भए पनि पेलेरै समावेश गर्ने सम्भावना देखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार