६ बैङ्कलाई मर्जरमा जान राष्ट्र बैङ्कको तीव्र दबाब

१० वटा बैंक मर्जर प्रक्रियामा, अन्यले पाटर्नर खोज्दै

अहिले नेपालको वित्तिय क्षेत्रमा बैंक मर्जरको लहर छ । बढ्दो प्रतिस्पर्धासँगै व्यवसाय बढाउनुपर्ने परिस्थितिका कारण बैंकहरुलाई मर्जर बाध्यता बन्दै गएको छ । त्यसमाथि सरकारी निती र नेपाल राष्ट्र बैंकको दबाब बैंकहरुका लागि मर्जरमा गईहाल्नुपर्ने बाध्यता बनेका छन । अहिले वाणिज्य बैंकहरुको संख्या २६ छ भने १० वटा बैंक मर्जर प्रक्रियामा छन । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई भने गाभिसकेको छ ।

यसक्रममा गत महिना राष्ट्र बैंकले मर्जरको प्रक्रियामा नरहेका ८ वटा बैंकलाई मर्जरमा जान निर्देशन दिएको थियो । राष्ट्र बैंकले एनसीसी, कुमारी, सनराइज, सिद्धार्थ, लक्ष्मी, सिटिजन्स, माछापुच्छ्रे र सानिमा बैंकका प्रतिनिधिहरुलाई बोलाएर मर्जरमा जान निर्देशन दिएको हो । सोही अनुरुप कुमारी र एनसीसी बैंकले भने गत सोमबार  १ः१ स्वाप रेसियोमा मर्जरमा जाने गरि सहमति गरिसकेका छन् ।

कुन–कुन बैंकले गरे मर्जरको सहमति ?
नेपाल राष्ट्र बैंकले लाइसेन्समा खुकुलो नीति लिँदा कुनै बेला बैंकको संख्या ३२ पुगेको थियो । अब त्यो संख्या घटेर २१ मा आएको छ । अहिले वाणिज्य बैंकहरुको संख्या २६ छ भने १० वटा बैंक मर्जर प्रक्रियामा छन ।

यसबाट ५ वटा बैंकको संख्या घट्ने छ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभिसकेको छ । बाकीँ मर्जरको प्रक्रियामा रहेका बैंकहरुले पनि राष्ट्र बैंकबाट सैद्धान्तिक स्वकृति पाइसकेका छन् भने छिट्टै नै संयुक्त कारोबार गर्ने तयारीमा छन् ।

ग्लोबल आइएमइ बैंक र बैंक अफ काठमाण्डूसँग मर्जरमा जादैँछ । यस्तै मेगा र नेपाल इन्भेष्टमेन्ट, हिमालयन र सिभिल, प्रभु र सेन्चुरी, एनसीसी र कुमारी बैंकले मर्जरको सहमति गरिसकेका छन् । त्यसमध्ये एनसीसी र कुमारी बैंकबाहेककाले राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाइसकेका छन् । एनसीसी र कुमारी बैंकले भने गत सोमबार मात्रै मर्जरसम्बन्धी सम्झौता गरेका थिए ।

६ बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको ताकेता
मर्जरको प्रक्रियामा नरहेका ६ वटा बैंकलाई नेपाल राष्ट्र बैंकले ताकेता गरेको छ । राष्ट्र बैंकले सनराइज, सिद्धार्थ, लक्ष्मी, सिटिजन्स, माछापुच्छ्रे र सानिमा बैंकलाई मर्जरमा जानका लागि ताकेता गरेको हो । यी बैंकहरुलाई पुष मसान्तसम्म मर्जरमा जानका लागि ताकेता गरेको राष्ट्र बैंकले जनाएको छ । यी बैंकहरु मर्जरका लागि पाटर्नर खोजिरहेका छन् ।

राष्ट्र बैंकको दबाबमा रहेको सनराइज बैंकको गत असार मसान्तसम्मको वित्तीय विवरण अनुसार चुक्ता पूँजी १० अर्ब ११ करोड रुपैयाँ छ । लक्ष्मी बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । यसैगरी, सानिमा बैंकको चुक्ता पूँजी ११ अर्ब ३२ करोड रुपैयाँ कायम छ । सिटिजन्स बैंकको पूँजी १४ अर्ब २० करोड रुपैयाँ रहेको छ भने माछापुच्छ्रेको १० अर्ब २५ करोड र सिद्धार्थ बैंकको १२ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले गतवर्ष मौद्रिक नीति सार्वजनिक गर्दै बिग मर्जरमा जाने बैंकहरूलाई दिने छुट सुविधा सार्वजनिक गरेको थियो । राष्ट्र बैंकले यही आर्थिक वर्षभित्र वाणिज्य बैंकहरू गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भइ एकिकृत कारोबार सञ्चालन गरेमा विद्यमान व्यवस्थाको अतिरिक्त थप सुविधा तथा छुट २०७९ असार मसान्तसम्म प्रदान गरिने उल्लेख गरेको थियो । अहिले यसलाई पुस मसान्तसम्म पुर्याइएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार