गाउँघरबाट हराउँदै लिङ्गे पिङ

भोजपुर– गाउँघरमा दसैँतिहारको झल्को लिङ्गे पिङबाट पाउने गरिन्थ्यो । दसैँतिहारको अवसर पारेर ग्रामीण भेगमा पिङ हाल्ने संस्कृति केही वर्ष अगाडिसम्म कायममै थियो । तर अहिले भने गाउँघरमा युवा पुस्ताको सङ्ख्या पनि कम हुनु र मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट लिङ्गे पिङ लोप हुन थालेको छ ।

‘गाउँमा मात्र होइन विगत केही वर्ष अगाडिसम्म त सदरमुकाम आसपासमा पिङ देख्न पाइन्थ्यो तर अहिले सो संस्कृति हराउँदै गएको छ ।’ स्थानीयवासी खोमराज धमलाले भने, ‘पुराना संस्कार तथा संस्कृति विस्तारै हराउँदो क्रममा छन् ।’ बढी मात्रामा बाटिएको टोरी प्रयोग गरेर बाँसको लिङ्गा गाडेर पिङ हाल्ने गरिन्थ्यो ।

गाउँघरमा पिङ नभएपछि जमघट र भेटघाट खल्लो हुने अनुभव युवाको छ । ‘विगतमा लगाइने पिङमा वृद्धा, युवादेखि बालबालिकासम्मको जमघट हुने गर्दथ्यो । त्यस्तो रमाइलो गर्ने परम्परा हराउँदै गएको छ’, स्थानीय युवा वसन्त खड्काले भने । गाउँका मुख्यस्थल पिङमय हुने गरेको भए पनि हिजोआज त्यो संस्कृति पनि लोप हुँदै गएको भनाइ अरुण गाउँपालिकाका लिलानाथ कोइरालाको छ ।

सामान्यतया लिङ्गे पिङ बाँसका लिङ्गा गाटेर बाबियोको डोरीको लठ्ठा बनाएर बनाउने गरिन्थ्यो । पुरानो संस्कृति र परम्परा जोगाउन अहिले गाउँघरमा बाबियोको डोरी बनाउने मानिसको अभाव रहेको कारण पिङको संस्कार पनि हराउँदै गएको स्थानीय शिव भुजेलको धारणा छ ।

सानै उमेरदेखि दसैँमा पिङ खेल्ने गरेको तर पिङ नै गाउँघरमा लगाउन छोडिएको स्थानीय बद्रीबिक्रम बुढाथोकीले बताए । ‘पहिले टोलटोलमा पिङ थाप्ने प्रतिस्पर्धा नै हुन्थ्यो तर अहिलेको पुस्तामा त्यसप्रति आकर्षण घटेको छ । युवाले आधुनिकताका नाममा संस्कृति छाड्दै गएका छन्’, बुढाथोकीले भने, ‘संस्कृतिसँग जोडिएका यस्ता प्रचलनलाई युवाले निरन्तरता दिनुपर्छ ।’ पुरानो भनाइ चाडपर्वमा पिङ खेलेर भुई छाड्नुपर्ने परम्परा पनि हटेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार