कोरोना संक्रमणबाट सुदूरपश्चिमका पहिलो प्रदेश प्रमुख मल्लको निधन

संघीय संरचना कार्यान्वयनपछि सुदूरपश्चिमको पहिलो प्रदेश प्रमुख बनेका मोहनराज मल्लको कोरोना संक्रमणबाट निधन भएको छ । कैलालीका स्थायी बासिन्दा मल्लको काठमाडौँमा उपचारका क्रममा निधन भएको परिवारलाई उदृत गरी मल्लका पूर्व स्वकीय सचिव धनसिंह साउदले पुष्टि गरे ।

कैलालीका पुराना राजनीतिज्ञ मल्ल लामो समयदेखि निमोनिया र मुटुसम्बन्धी समस्याबाट पीडित थिए । एक हप्ता पहिले कोरोना संक्रमण पुष्टि भएपछि उनको ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा उपचार भइरहेको थियो । मल्लको बुधबार राति ११ बजेतिर मृत्यु भएको हो ।

पूर्व राष्ट्रिय पञ्चायतका सदस्य समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रहेका उनी २०७० सालकाे दोस्रो संविधानसभा निर्वाचन अगाडि नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । तत्कालीन प्रधानमन्त्री समेत रहेका काँग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले मल्ललाई २०७४ सालमा सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।

त्यसको करिब दुई वर्षपछि २०७६ सालको कार्तिकमा उनलाई पदमुक्त गरिएको थियो । मल्लका १ छोरा र १ छोरी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार