सन्दीप लामिछानेले भने – नेपाल फर्किने तयारीमा छु

'गम्भीर षड्यन्त्रको सिकार भएँ, अहिले आइसोलेसनमा छु'

नेपालका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आफू जतिसक्दो चाँडो नेपाल फर्किएर झूटा उजुरीको डटेर प्रतिवाद गर्ने बताएका छन् । अहिले आफू मानसिकरुपमा विक्षिप्त र अस्वस्थ समेत रहेकाले आइसोलेसनमा रहेको उनले जानकारी दिएका छन् ।

आफू रहेको स्थान नखुलाइकन सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै सन्दीपले यस्तो बताएका हुन् । उनले कसुर प्रमाणित नभइकन आफूलाई अपराधिका रुपमा चित्रण गरिएकोमा गुनासोसमेत गरेका छन् ।

उनले भनेका छन्,’मेरो अनुपस्थितीमा मलाई अपराधि सावित गराउने झुट्टा झुट्टा जाहेरी प्रपञ्चहरुको मैले कानूनी लडाँइ लड्ने छु। मैले बुझे सम्म नेपालको संविधानले कसूर प्रमाणित नभए सम्म कसूरदार नमानिने व्यवस्था गरेको छ साथै संविधानले सम्मानपूर्वक बाँच्न पाउने, यातना विरुद्दाको हक, गोपनियताको हक, स्वास्थ्य सम्बन्धीको हक र मेरो कानून व्यवसायीसँग कानूनी परामर्श गर्न पाउने हक समेत रहेको बुझेको छु’।

त्यस्तै लामिछानेले आफूविरुद्ध गम्भीर षड्यन्त्र भएको बताएका छन् ।आइतबार राति सामाजिक सञ्जालमार्फत आफूले राष्ट्रलाई ठूलो योगदान दिएको उल्लेख गर्दै उनले आफूमाथि गम्भीर षड्यन्त्र भएको बताएका छन् ।

“क्रिकेटप्रति सानैदेखि जुनुन भएको म एउटा सामान्य परिवारको मानिस हुँ । मेरा लागि जीवनमा क्रिकेट र मेरो देश मात्रै प्राथमिकतामा रहे । मलाई लाग्छ नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन मेरो पनि भूमिका रहेको छ चाहे त्यो खेलाडीको रूपमा होस् वा चाहे कप्तानको रूपमा । राष्ट्रका लागि दिलो ज्यानले खेलिरहेको म एउटा इमान्दार क्रिकेट खेलाडी आज एउटा गम्भीर षडयन्त्रको सिकार भएको महसुस भएको छ,” उनले भनेका छन् ।

उनले आफू अहिले मानसिक र शारीरिक तनावका कारण आइसोलेसनमा रहेको समेत बताएका छन् ।

“मलाई एकातिर मानसिक असर गर्‍यो भने अर्कोतिर म बिरामी अवस्थाबाट गुज्रिन पर्‍यो र मानसिक तनाव र स्वास्थ्य खराबीको कारणले मैले मलाई आइसोलेसनमा राखेर बसेको छु,” उनले भनेका छन् ।

सन्दीप विरुद्ध १७ वर्षीया किशोरीले भदौ २१ मा जबर्जस्ती करणीको कसुरमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन् । उनले नाबालिगलाई भक्तपुरको चाँगुनारायण नगरपालिका-८ सुडालस्थित बोजिनी रिसोर्टमा दुई घण्टा राखेको भेटिएको छ ।

भदौ ५ मा सन्दीपले आफूलाई नगरकोटस्थित विभिन्न होटलमा घुमाएर फर्केपछि राति एयरपोर्टस्थित होटेल ‘काठमाडौं इन’मा लगेर पटक-पटक बलात्कार गरेको १७ वर्षीया नाबालिगको आरोप छ । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ । बलात्कार आरोपमा सन्दीपलाई पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ ।

त्यस्तै भदौ २३ मा उनलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले कप्तानबाट निलम्बन गरेको थियो । क्रिकेट सङ्घले निलम्बन गरेपछि सन्दीपले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत आफू निर्दोष रहेको भन्दै कानुनी लडाइँ लड्ने बताएका थिए । तर, कानुनी लडाईं लड्न नेपाल फर्किनुको साटो उनी विदेशमै हराएका थिए  ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार