२ महिनामा २ खर्ब ७३ अर्बको आयात, व्यापार घाटा २ खर्ब ४४ अर्ब ९१ करोड

डलरको मूल्य बढ्दा आयात रकम बढ्यो

चालु आर्थिक वर्ष २०७९–८० को पहिलो दुई महिना अवधिमा नेपालको कुल वैदेशिक व्यापार ३ खर्ब नाघेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार भदौ मसान्तसम्ममा नेपालले २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने २८ अर्ब ६८ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ ।

साउनमा १ खर्ब ३१ अर्ब २८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । भदौमा आइपुग्दा यो रकम २ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।

अर्थात् २ महिना अवधिमा नेपालको व्यापार घाटा २ खर्ब ४४ अर्ब ९१ करोड रुपैयाँ बराबर देखिन्छ ।

भन्सार विभागको तथ्यांक अनुसार भदौमा मात्र नेपालले १ खर्ब ४२ रुपैयाँको वस्तु आयात गरेको छ । यस अनुसार साउनको तुलनामा भदौमा वस्तुको आयात ११ अर्बले बढेको हो । सरकारले विलासिताका वस्तुको आयात माथिको प्रतिबन्ध कायमै राखेको छ । तर, चाडवाड लक्षित सामग्रीको आयातका कारण भदौमा आयात बढेको हो । अर्कोतर्फ निरन्तर बढेको डलरको मूल्यले समेत आयात रकम बढी हुन पुगेको छ ।

गत आर्थिक वर्षको पहिलो २ महिना अवधिको तुलनामा चालु आर्थिक वर्षमा कुल वैदेशिक व्यापार १५.७० प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष २०७८/७९ को भदौ मसान्तसम्ममा नेपालले ३ खर्ब ५८ अर्ब ५५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो । तर चालु आर्थिक वर्षमा त्यो घटेर ३ खर्ब २ अर्बमा खुम्चिएको छ ।

गत वर्षको पहिलो दुइ महिना अवधिमा चालु आर्थिक वर्षको सोही अवधिमा आायत १३.०१ प्रतिशत र निर्यात ३४.८८ प्रतिशतले घटेको छ । व्यापार घाटा पनि गत वर्षको तुलनामा ९.४५ प्रतिशतले घटेको छ ।

नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.५१ प्रतिशत र निर्यातको हिस्सा ९.४९ प्रतिशत रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार