नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आन्तरिक मामिला भएको भारतको भनाई

'अहिलेको समस्या आफै समाधान गर्नुपर्छ'

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई भारतीय विदेश मन्त्रालयले आन्तरिक मामिला भनेको छ ।

बुधबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागची ले विभिन्न सञ्चारमाध्यमबाट सोधिएको प्रश्नको उत्तर दिँदै नेपालको पछिल्लो घटनाक्रमलाई भारतले आन्तरिक मामिलाका रुपमा हेरेको बताएका हुन् ।

बागची ले भनेका छन्, ‘हामीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई ध्यानपूर्वक हेरेका छौं । यसलाई हामी नेपालको आन्तरिक मामिलाका रुपमा नै लिन्छौँ ।’ त्यस्तै नेपालले अहिलेको समस्या आफै समाधान गर्नपर्ने पनि भारतीय विदेश मन्त्रालयको भनाइ छ ।

‘नेपालले पछिल्लो समस्या आफ्नै घरेलु ढाँचा र लोकतान्त्रिक प्रक्रियामा रहेर समाधान गर्नुपर्छ,’ भारतीय विदेश मन्त्रालयले भनेको छ । छिमेकी मित्रराष्ट्र भएको नाताले भारतले नेपालको शान्ति, समृद्धि र स्थायित्वको यात्रामा साथ दिने पनि भारतले जनाएको छ ।

नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेको पाँच दिनपछि भारतले यो घटनाबारे औपचारिक रूपमा प्रतिक्रिया दिएको हो ।

कतिपय विश्लेषकले पछिल्लो समय ओलीको भारतसँग सम्बन्ध गहिरिएको भन्दै विकसित राजनीतिक घटनाक्रममा उसको पनि भूमिका रहेको बताइरहेका बेला भारतले यस्तो प्रतिक्रिया दिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार