भारतमा कोरोना भाइरस संक्रमित र मृतकको संख्या बढ्दै

२४ घण्टामा ४७ हजार संक्रमित भेटिए

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करीब ४७ हजार जना संक्रमित भएका छन् ।

गत २४ घण्टामा कोरोना संक्रमितको यो सङ्ख्या यस वर्ष शुरु भएयताको नै सबभन्दा बढी हो । यस अवधीमा कोरोना संक्रमणबाट २१२ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ५९ हजार ९६७ पुगेको सोमबार सो मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म कूल संक्रमितको सङ्ख्या एक करोड १६ लाख ४६ हजार ८१ पुगेको मन्त्रालयले जानकारी दिएको छ । कूल संक्रमितमध्ये तीन लाख ३४ हजार ६४६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड ११ लाख ५१ हजार ४६८ जना संक्रमणमुक्त भएका छन् ।

भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म चार करोड ५० लाख भन्दा बढीले खोप लगाइसकेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा ८२३ जनामा कोरोना भाइरस देखिएको र एक जनाको मृत्यु भएको हो । नयाँ दिल्लीमा कोरोना शुरु भएदेखि यता हालसम्म १० हजार ९५६ जनाको मृत्यु भईसकेको छ ।

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ । परिषद्का अनुसार आइतबारसम्म भारतमा २३ करोड ४० लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । आइतबार एकै दिनमा १० लाख ६३ हजार भन्दा जनाको कोरोना परीक्षण गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार