उपप्रधानमन्त्रीद्वारा बुद्ध जयन्ती र उभौली पर्वको शुभकामना व्यक्त

उपप्रधानमन्त्री एवम् एमालेका महासचिव ईश्वर पोखरेलले २५६५औं बुद्व जयन्ती तथा किराँत समुदायको उभौली पर्वको अवसरमा समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

पोखरेलले शुभकामना सन्देश जारी गरेर भनेका छन्, ‘शान्तिका नायक भगवान् बुद्धको जन्म, बोधी ज्ञान प्राप्त गरेको दिन र महापरिनिर्वाण भएको तीनवटा पवित्र संयोगका रुपमा पवित्र दिन स्वरुप आजको दिनलाई लिने गरिन्छ ।’

प्रकृति पुजक किराँत समुदायले आजको दिनलाई विशेष पर्वको रुपमा मनाउने चलन रहेको पोखरेलले बताएका छन् ।

‘मौलिक चाडपर्व, धर्म, संस्कृति, रितिरिवाज र मूल्य मान्यता हामी नेपालीहरूका अमूल्य सम्पत्ति हुन्’, उप–प्रधानमन्त्री पोखरेलले भने, ‘यिनै संस्कार र सभ्यताहरूले हामीलाई एकताबद्व बनाउन प्रेरित गरिरहेको छ ।’

‘विश्व शान्तिका अग्रदूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको सही अर्थमा परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच संहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ र सबल बनाउन सकिने विश्वास मैले लिएको छु ।’

उप–प्रधानमन्त्री पोखरेलले विश्वव्यापी फैलिएको कोरोना भाइरस महामारीबाट सम्पूर्ण नेपाली र सिंगो मानवजगतले छिट्टै मुक्ति पाउने कामना पनि गरेका छन् ।

‘जनतालाई कोरोना भाइरसबाट मुक्त दिलाउन सरकारले आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत गरिरहेकाले यो लडाइँमा साथ दिन म सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरूमा हार्दिक अपिल पनि गर्न चाहन्छु’, उनले भनेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार