मैत्रीपूर्ण र विश्वकप छनौट खेल खेल्न नेपाली फुटबल टोली इराक प्रस्थान

इराकसँगको मैत्रीपूर्ण खेलका साथै फिफा विश्वकप छनौटका लागि नेपाली टिम बुधबार इराक प्रस्थान गरेको छ । फिफाको सहयोगमा कतार एयरवेजको चार्टड विमानबाट नेपाली टिम इराक प्रस्थान गरेको हो ।
नेपाली टोलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले बिदाइ गरे । जेठ १५ गते अर्थात् शनिबार हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टिम त्यसतर्फ प्रस्थान गरेको हो । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टिम आइतबार कुवेत प्रस्थान गर्नेछ । यो टुरका लागि जान लागेको टिमका २३ खेलाडी र १२ अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।  इराक प्रस्थान गर्नुअघि राखेप सदस्य सचिव एवं नेपाली टोलीका अफिसियल रमेश सिलवालले नेपाली टोलीको हौसला बढाउन आफु पनि नेपाली टिमसँग जान लागेको बताए । उनले नेपाली फुटबलको समृद्धिका लागि भ्रमण राष्ट्रका फुटबल निकायसँग पनि छलफल गर्ने जनाए ।
नेपालले इराकसँगको मैत्रीपूर्ण खेलपछि फिफा विश्वकप छनौट खेल्नेछ । जसमा नेपालले जुन तीन अर्थात् जेठ २० गते चाइनिज ताइपेइसँग जुन सात अर्थात् जेठ २५ गते जोर्डन र जुन ११ अर्थात् जेठ २८ गते अस्ट्रेलियासँग छनौट खेल खेल्नेछ ।
प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो । यस पटक प्रशिक्षक अब्दुल्लाहले टिममा ६ जना नयाँ अनुहारलाई मौका दिएका छन् ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार